काठमाडौँ । अंग्रेजी महिनाको अन्तिम शुक्रबार नेपालयको ‘आर’शालामा आयोजना हुँदै आएको सांगीतिक कार्यक्रम ‘पलेँटी’मा यसपटक गायक तथा संगीतकार आभास प्रस्तुत हुने भएका छन् । डिसेम्बरको अन्तिम शुक्रबार र शनिबार हुने पलेँटीको सहगायनमा आभासलाई गायिका अभिज्ञा घिमिरेले साथ दिनेछिन् ।
नेपालयका अनुसार यो महिनाको पलेँटीमा आभासले धुन भरेका र गाएका गरेर झन्डै १ दर्जन गीतकारका शब्द र धुनहरू सुनिनेछन् । यो पलेँटीका निम्ति आभासले महाकवि लक्ष्मीप्रसाद देवकोटादेखि नयाँ पुस्ताका शब्दलाई आफ्नो धुनमा समेटेका छन् । उनले तयार पारेको सूचीमा संगीतकारहरु अम्बर गुरुङ, भीमबिराग र चन्द्र भण्डारी, गीतकारहरु कालीप्रसाद रिजाल, मञ्जुल, बूँद राना, दिनेश अधिकारी, तीर्थ श्रेष्ठ, श्रवण मुकारुङ र कुमार नगरकोटीका छन् ।
पलेँटीमा प्रस्तुत गर्न आभासले सीमापारिका नेपाली भाषी सर्जकका गीतलाईसमेत समेटेर अभ्यास गरिरहेका छन् । जसमा दार्जिलिङका पुराना गीतकार नरदेन रुम्बा र कवि सञ्जय बान्तावाका गीतहरू पनि छन् । सन् २००५ को जनवरी महिनादेखि आरम्भ भएको पलेँटीले यही महिनाबाट आफ्नो २० औँ वर्ष पूरा गर्दैछ । आउँदो २०२६ मा पनि पलेँटी निरन्तर रहने कुरा आयोजक संस्था नेपालयले जानकारी गराएको छ । यो महिनाको पलेँटी कार्यक्रम २६ र २७ डिसेम्बरमा कालिकास्थानस्थित नेपालयको ‘आर’शालामा आयोजना हुनेछ ।







