काठमाडौँ । फिल्म ‘ऐना झ्यालको पुतली’, ‘हल्कारा’, ‘रेडसुटकेश’ निर्माण कम्पनी आइसफल प्रडक्सनले आफूले निर्माण गर्न लागेको फिल्मका लागि कलाकारको खोजी सुरु गरेको छ । निर्माता तथा आइसफल प्रोडक्सनका प्रमुख रामकृष्ण पोखरेलले फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्मका लागि पनि कलाकार चाहिएको बताए ।
उनले आइसफल प्रडक्सनले २०२६ मा फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माण गर्ने भएकाले कलाकारको खोजी सुरु गरिएको बताए । ‘यसैका लागि हामीले अडिसन कल गरेका छौँ,’ पोखरेलले भने, ‘अडिसनबाट आएका प्रतिभालाई दुवै पक्षको समझदारीअनुसार काम गराउने योजना छ ।’
विदेशीका फिचर फिल्म, डकुमेन्ट्री र विज्ञापनका लागि लाइन प्रोड्युसरको काम गर्दै आएको आइसफल प्रोडक्सनले निर्माण गरेका फिल्महरु विश्वका प्रतिष्ठित फेस्टिभलमा छनौट एवं पुरस्कृत भएका छन् ।
अडिसन कलमा आइसफलले मुख्य भूमिकादेखि सहायक भूमिकासम्मका लागि कलाकारको अडिसन लिने जनाएको छ । यसका लागि जुनसुकै लिंग, उमेर र जात समूहका कलाकारले पनि आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आफ्नो परिचयात्मक भिडियो कम्पनीको इमेलमा पठाउनुपर्ने छ ।







