काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको फिल्म ‘मिरमिरे’को शीर्ष गीत ‘मिरमिरे भो’ सार्वजनिक भएको छ । गीतमा प्रकाश सपूत र मेलिना राईको स्वर तथा प्रकाशकै शब्द र संगीत छ ।
गीतमा युवा र युवतीबीचको प्रेम देखाइएको छ । गीतमा युवकको हेराईले युवतीमा पारेको प्रभाव र युवतीको सुन्दरताको बयान गीतमा सुन्न सकिन्छ । गीतको भिडियोमा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । भिडियोमा त्रिकोणात्मक प्रेम कथा देखाइएको छ ।
माघ १ गतेबाट प्रदर्शनमा आउने फिल्मले बाबा र छोरीबीचको भावनात्मक सम्बन्धलाई देखाएको छ । यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय छ ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो फिल्मको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका फिल्म वितरक रोहित कट्टेल रहेका छन् ।







