पाकेको चिउरीमा परिवर्तन जोडी

काठमाडौं । आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’मा समावेश गीत ‘पाकेको चिउरी’को भिडियो सार्वजनिक भएको छ। निर्माण टिमले क्रिसमस डेको अवसर पारेर भिडियो रिलिज गरेको हो। ओएसएआर डिजिटल युटुब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईलीको अभिनय छ ।

लोकलयमा आधारित यस गीतको भिडियोमा प्रेमकथा बुनिएको छ। निर्देशक विजय केरुङले फिल्मको कथा अनुसार कै गीतलाई रोजेको हुनाले गीतमा गाउँघरको टिपिटकल शब्दलाई प्रस्तुत गरिएको बताए ।

भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी र शिव ढकालको छायांकन छ । एसडी योगी र रेश्मा पुनको स्वर रहेको गीतमा संगीत गायक योगी कै रहेको छ। गीतको शब्द भने मौसम अर्यालले लेखेका हुन्।

दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्ममा सरोज खनाल,करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी,सुवास मेचेको पनि अभिनय छ । फिल्म एक्सन र सस्पेन्स जनराको छ ।

दीपक सिवाकोटीको कथा तथा निर्माण रहेको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन्। बन्दे प्रसादको सम्पादन,रामजी लामिछानेको कोरियोग्राफी,एसडी योगीको संगीत रहने यो फिल्ममा द्धन्द्ध निर्देशन श्री श्रेष्ठको छ।