काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको फिल्म ‘प्रतिवैरम’ को फस्टलुक सार्वजनिक गरिएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको सार्वजनिक पोस्टरले फिल्मको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ ।
फस्टलुकमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ देखाइएको छ । फस्टलुकमा फिल्मका मुख्य कलाकार सम्राट दास र सुप्रज्ञा शर्मालाई स्थान दिइएको छ । कलाकार सम्राटको आँखाको भाव, शारीरिक भाषा र क्यारेक्टर लुकले पात्रभित्रको आक्रोश, संघर्ष र जिम्मेवारीलाई प्रस्तुत गरेको छ । अर्की कलाकार सुप्रज्ञाको अनुहारमा झल्किएको पीडा, प्रेम र भरोसाले कथाको मानवीय पक्षलाई अझ सशक्त बनाएको छ ।
फिल्ममा वीरेन्द्र कुशवाहा, आलिशा बस्तोला, रोन्नी यादव, विक्की शाह, नवीन श्रेष्ठ, गीता श्री, आशिष डिके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय छ । फिल्मका सह–निर्देशकमा सन्तोष मल्ल, अग्नि सुवेदी, धीरज राउत र श्रीजना भुजेल रहेका छन् ।
निर्देशक रोशनका अनुसार मधेसका वास्तविक कथा, सौन्दर्य र सामाजिक–राजनीतिक समस्यालाई देखाइएको फिल्ममार्फत मधेसको वास्तविक जीवन र संवेदनालाई दर्शकमाझ पु¥याउने बताए । फिल्मको कथा निर्देशक दास स्वयंको हो भने पटकथा युवराज भट्टराईले लेखेका हुन् । नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा निर्माण गरिएको फिल्म २०८३ को जेठ महिनामा रिलिज हुनेछ ।







