राष्ट्रिय भावमा बिगुलको आउ यस्तो देश बनाऔं

काठमाडौं । फिल्म ‘बिगुल’मा समाबेश गीत ‘आउ यस्तो देश बनाऔं’ को भिडियो आइतबार सार्वजनिक भएको छ । नेपाली काग्रेस महामन्त्री विश्वप्रकाश शर्माको शब्द र संगीत रहेको गीत राजेशपायल राईले गाएका हुन् । गीतमा फिल्मका सबै प्रमुख कलाकार प्रस्तुत भएका छन् ।

रमेश कोइरालाको निर्देशन र दिनेश कोइरालाको कथा र निर्माण रहेको फिल्म माघ ९ गतेबाट देशब्यापी प्रदर्शनमा आउदैछ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा देशप्रेम, राष्ट्रभक्ति, समाबेशीता, शान्ति र जनजागरणको सन्देश प्रस्तुत गरिएको छ । राष्ट्रिय झण्डासहित देशमा सुशासन, विकास र शान्तिको सन्देश फैलाउन कलाकारहरु घरदैलो जागरणा अभियानमा लागेको देखाइएको छ । देश आम निर्वाचनमा होमिन लागेको बेलामा सार्वजनीक गरिएकाले गीतले चुनावी माहौलको झल्को दिएको छ ।

कल्पना पौडेलको प्रस्तुति रहेको फिल्मको गीतमा आमजनताको आवाज मुखरित भएको दावी निर्माण पक्षको छ । फिल्मका निर्देशक रमेश कोइरालाले भुइँमान्छको कथा र समृद्ध नेपालको कल्पनालाई आव्हान गरिएको फिल्म बिगुल रहेको बताए । ‘देशको समसामयिक घटनाक्रम अनि राजनैतिक बिषयमा आधारित कथाबस्तु भए तापनि चलचित्र पूर्ण ब्याबसायिक ध्ययेले निर्माण गरेका हौं । चलचित्रमा समाज जागरणको सन्देशका साथमा भरपुर मनोरञ्जन प्रस्तुत गरेका हौं,’ उनले भने ।

जेन्जी आन्दोलनप्रति समर्पित फिल्ममा बेनीशा हमाल, नरेन खड्का, रमेश बुढाथोकी, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, बिनोद न्यौपाने, जेएन घिमीरे, गीता अधिकारी, मीरा पण्डित, मानश्री शर्मालगायतको अभिनय छ ।