काठमाडौं । आगामी माघ १ गते चलचित्र ‘मिरमिरे’ रिलिज हुँदा दयाहाङ राई र सिर्जना निङलेखुको जोडी दोहोरिँदैछन् । यसअघि यो अनस्क्रिन जोडीलाई दर्शकले फिल्म ‘कार्साङ्’मा देखेका थिए । दयाहाङ र सिर्जनालाई पुनः सहकार्य गर्ने अवसर निर्देशक यम शेर्पाले दिएका छन् ।
यमले यसअघि फिल्म ‘कार्साङ’नै निर्देशन गरेका थिए । ‘एकपटक काम गरिसकेपछि त्यही व्यक्तिसँग काम गर्न सहज हुने रहेछ । पहिलोपटक काम गर्दा नै उसको काम गर्ने तरिका र शैली थाहा हुन्छ, आनीबानी पनि थाहा हुन्छ,’ निर्देशक यम भन्छन् ‘त्यसकारण पनि दयाहाङ र सिर्जनालाई पुनः लिएका हौं ।’
उनले फिल्मको स्क्रिप्ट लेखनदेखि नै दिमागमा दयाहाङ र सिर्जनामात्र लिइएको खुलाए । कथाको माग र पहिलो पनि सँगै काम गरेकाले सहजताको अपेक्षाले निर्देशक र मुख्य कलाकारबीच त्रिकोणात्मक सहकार्य दोहोरिएको निर्देशक यम ठोकुवा गर्छन् । फिल्ममा दयाहाङ र सिर्जनासँगै मुख्य भूमिकामा प्रकाश सपूत पनि छन् । दयाहाङ र प्रकाशको यो पहिलो सहकार्य हो । फिल्ममा साइसा गौचनको पनि अभिनय छ । फिल्मले बाबु र छोरीबीचको सम्बन्धको कथा बोल्छ ।
यार्सा फिल्म्सको प्रस्तुति रहेको फिल्ममा दयाहाङ, प्रकाश, सिर्जना, शाइसासँगै माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, दिविशा पन्त, चिराग श्रेष्ठ, नमनराज गजुरेलको अभिनय छ । निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्मका सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।







