काठमाडौँ । चलचित्र विकास बोर्डको सहकार्यमा आदिवासी जनजाति चलचित्र महासंघ बागमती प्रदेशको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन गत शनिबार काठमाडौँमा सम्पन्न भएको छ। तत्कालीन अध्यक्ष रेशमकुमार श्याउली तामाङको सभापतित्वमा सम्पन्न अधिवेशन नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालय तथा चलचित्र विकास बोर्डको सहयोगमा आयोजना गरिएको हो।
कार्यक्रममा लिसंखु पाखर गाउँपालिका प्रमुख राजु लामा, गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामा, आदिवासी जनजाति चलचित्र महासंघ संघीय समितिका प्रमुख सल्लाहकार अमृत सुनुवार, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी तथा रोशी गाउँपालिकाका पूर्व प्रमुख डिवि मोक्तान उपस्थित थिए।
कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले आदिवासी जनजाति मातृभाषी चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि बोर्डले चालु वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए। उनले गत वर्ष १४ वटा मातृभाषी समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गरिएको स्मरण गर्दै यस वर्ष १५ वटा मातृभाषी कार्यक्रम सञ्चालन गर्ने तयारी रहेको बताए। मातृभाषामा निर्माण हुने फिल्मले नेपाली फिल्म क्षेत्रको विविधता, मौलिकता र पहिचानलाई थप सुदृढ बनाउने उनको भनाइ थियो।
अधिवेशनका क्रममा तामाङ फिल्म “तामाङला कोला” तथा तामाङ लघु चलचित्र “हृदयमा पिवा”को विशेष प्रदर्शन गरिएको थियो। अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै भुपेन्द्र ब। रिखाम मगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ।
नयाँ कार्यसमितिको उपाध्यक्षत्रयमा पुष्पाञ्जली टिलिङ लिम्बु, सुस्मिता लाम्छाने गुरुङ, सुनजित माझी, महासचिवमा नेत्र ब भुजेल, सचिवद्वयमा मानिका सिङ्तान र बलकुमार राई, सह–कोषाध्यक्षमा गोपाल पुन मगर (शिङ्ग्रोन) निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा सुमित्रा बुढा मगर, भावना भुजेल, राजु राई, बिमला भुजेल, ममता माझी निर्वाचित भएका छन् ।







