काठमाडौँ । ‘सेल्युलाइड’ प्रविधिमा निर्माण भएका नेपाली फिल्मलाई नयाँ प्रविधिअनुसार डिजिटल स्वरूपमा रूपान्तरण गर्न चलचित्र विकास बोर्डले प्रक्रिया अघि बढाएको छ । स्वदेशी चलचित्रको संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले बोर्डले ‘डिजिटाइजेसन’का लागि इच्छुक निर्माता वा अधिकार प्राप्त व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो ।
बोर्डले मंगलबार एक सूचना जारी गर्दै उक्त प्रक्रियामा सहभागी हुन चाहनेले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन आग्रह गरेको छ । बोर्डका अनुसार ‘डिजिटल’ स्वरूपमा रूपान्तरण भएपछि पुराना चलचित्रको गुणस्तर सुधार हुनुका साथै ती फिल्मलाई दीर्घकालीन रूपमा सुरक्षित राख्न सहज हुनेछ ।
यसअघि बोर्डले ‘सेल्युलाइड’ प्रविधिमा रहेको ‘आमा’, ‘के घर के डेरा’, ‘बदलिँदो आकाश’, ‘जीवनरेखा’, ‘सिन्दुर’, ‘कुमारी’, ‘मनको बाँध’, ‘परिवर्तन’, ‘हिजोआज भोलि’, ‘शान्तिदीप’ लगायतका केही चलचित्रहरू ‘डिजिटाइजेसन’ गरिसकेको छ । ती फिल्ममा अङ्ग्रेजी भाषामा ‘सवटाइटल’ पनि राखिएका छन् ।







