छायांकनमा बम बिहारी

काठमाडौँ । नेपाली फिल्म ‘बम बिहारी’को मुर्हतसँगै छायांकन सुरु भएको छ । फिल्ममा डिएमएस मल्लको डेब्यू निर्देशन हुनेछ । उनले यसअघि झण्डै ५० वटा म्युजिक भिडियोको निर्देशन गरेका छन् ।

फिल्मको छायांकन तालिका एक महिना राखिएको निर्देशक मल्लले जानकारी दिएका छन् । उनका अनुसार छायांकन काठमाडौंसँगै नेपालगन्जमा पनि हुनेछ । सुरुमा काठमाडौंमा एकसाताको छायांकन फिल्म युनिट नेपालगन्ज लाग्नेछ । नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ ।

‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरी फिल्मको कथा घुम्नेछ । फिल्ममा कथा र लगानी पनि निर्देशक डिएमएस मल्लकै रहनेछ । फिल्ममा सुरबिर पण्डित, सुमन ज्योती न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुस्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ । फिल्ममा सुमन बम बिहारी पात्रमा देखिनेछन् । कलाकार झरना रिसालले सातबर्ष पछि आफूले फिल्ममा फेरी काम गर्न लागेको जानकारी दिइन् । उनले यसअघि ‘भूमि द ग्रेट लेडी’, ‘परिणाम’ र ‘कसलाई आफ्नो भन्नु’ फिल्ममा अभिनय गरिसकेकी छन् ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहने फिल्ममा सरोज बुढाथोकीको मेकअप रहनेछ । सुमन काफ्ले प्रोडक्सन म्यानेजर रहेको ‘बम बिहारी’ रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् । मुख्य सहायक निर्देशक बिनयराज पौडेल हुन् भने सहायक निर्देशक पुरुषोत्तम पण्डित हुन् । फिल्ममा अनुपम चौधरीको गीत रहनेछ । चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन ।