विपिनको अध्यक्षतामा अडियो भिडियो सोसाइटी

काठमाडौँ । अडियो र भिडियो विधामा कार्यरत प्राविधिकहरुको संस्था अडियो भिडियो सोसाइटी अफ नेपाल गठन भएको छ । चलचित्र विकास बोर्डमा शुक्रबार एक कार्यक्रमबीच विपिन स्थापितको अध्यक्षतामा संस्था गठनको घोषणा गरिएको हो । कार्यक्रममा नेपाली फिल्मसँग सम्बन्धित १२ वटा संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

अध्यक्ष स्थापितले संस्थाको गठनसँगै अडियो–भिडियो, डिजिटल प्रविधि, नवीन सोच र सिर्जनात्मक प्रयोगलाई संस्थागत रूपमा अघि बढाउँदै नेपाली फिल्म तथा श्रव्यदृश्य उद्योगलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउने बताए । ‘संस्थाले अडियो भिडियो, डिजिटल सामग्री, एआई प्रविधि, तालिम, अनुसन्धान तथा नीति समन्वयका क्षेत्रमा काम गर्दै नेपाली फिल्म र दृश्यश्रव्य उद्योगलाई प्रविधिमैत्री, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्य लिएको छ’, उनले भने ।

बोर्ड अध्यक्ष दिनेश डिसीले अत्याधुनिक प्रविधि र गुणस्तरमा आधारित निर्माण प्रक्रियामार्फत स्वदेशी फिल्मलाई विश्व बजारसम्म स्थापित गर्न सकिने बताए ।

‘फिल्म अब केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रविधि, सिर्जनशीलता र व्यावसायिकताको संयोजनबाट अघि बढ्ने उद्योग भएको छ । यदि हामीले फिल्म निर्माणमा अत्याधुनिक प्रविधिको योजनाबद्ध प्रयोग ग¥यौँ र गुणस्तरमा कुनै सम्झौता गरेनौँ भने स्वदेशी फिल्मलाई विश्व बजारमा पुग्ने हैसियत दिन सकिन्छ’, उनले भने, ‘अबको प्रतिस्पर्धा स्थानीय सीमामा होइन, अन्तर्राष्ट्रिय मञ्चमा हो । त्यसका लागि निर्माता, निर्देशक, प्राविधिक, कलाकार, वितरक र संस्थागत निकाय सबैले एउटै उद्देश्यका साथ अघि बढ्नुपर्छ ।’

उनले एआई प्रविधिले पटकथा लेखन, पोस्ट–प्रोडक्सन, भिजुअल इफेक्ट, अभिलेखीकरण र वितरण प्रणालीमा नयाँ सम्भावना खोलेको दाबी गर्दै प्रविधिलाई केवल आकर्षणका रूपमा नभई कथावस्तु बलियो बनाउने, निर्माण लागत व्यवस्थित गर्ने र अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने बताए ।

संस्थाको उपाध्यक्षमा वनिषविक्रम शाह, महासचिवमा मणिरत्न त्रिपाठी, सचिवमा रोमी तण्डुकार र कोषाध्यक्षमा डिकेस शाही खड्गी छन् । त्यस्तै सदस्यहरुमा सन्जिबरत्न शाक्य, निरीक्षा धतानि, उषा कार्की र अमित श्रेष्ठ छन् ।