काठमाडौँ । नेपाली वृत्तचित्र ‘को–हजबेन्ड’ फ्रान्सको पेरिसमा आयोजना हुने ‘१२औँ एथनोग्रा चलचित्र महोत्सव’मा छनोट भएको छ । वृत्तचित्रमा गणेश पाण्डेको निर्देशन छ । अमेरिकामा रहेको फिल्मको आधिकारिक वितरण संस्था डकुमेन्ट्री एजुकेसनल रिसोर्सेजले उक्त वृत्तचित्र महोत्सवका लागि छनोट भएको जनाएको हो ।
निर्देशक पाण्डेले आगामी २ देखि ५ अप्रिलसम्म पेरिसमा हुने महोत्सवमा सहभागी हुन पत्राचार भइसकेको जानकारी दिए । विश्वभरमा नेपाली वृत्तचित्रलाई चिनाउँदै आएको वृत्तचित्र यसअघि पनि विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा पुरस्कार र प्रशंसा प्राप्त गरिसकेको छ ।निर्देशक पाण्डेले अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा नेपालले प्रथम पुरस्कार जितेपछि विश्वका प्रतिष्ठित अन्तर्राष्ट्रिय महोत्सवमा छनोट हुनु नेपाली वृत्तचित्र क्षेत्र र यससँग जोडिएका व्यक्तिका लागि महत्वपूर्ण उपलब्धि मानिएको बताए । उनका अनुसार बहुपति प्रथामा आधारित ३५ मिनेटको उक्त वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायांकन गरिएको हो ।
‘घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका कतिपय हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई पहिलोपटक पर्दामा उतारेको हुँ’, निर्देशक पाण्डेले भने । यसले अन्तर्राष्ट्रिय दर्शक र अनुसन्धानकर्तामाझ नेपाली समाज र संस्कृतिबारे जानकारीसहित थप बहस र चासो बढाउने अपेक्षा गरिएको उनको भनाइ छ ।







