काठमाडौं । आगामी माघ ९ गते रिलिज हुने फिल्म ‘बिगुल’को ट्रेलर सार्वजनिक भएको छ । तीन मिनेटको ट्रेलरमा राजनीतिले जनतामा छाएको निराशा, युवा आक्रोश, पारिवारिक उल्झन, दुई पुस्ताबीचको वैचारिक मतभेदलगायतका विषयलाई स्थान दिइएको छ ।
ट्रेलरमा अभिनेत्री बेनिशा हमालको संवाद ‘क्रान्ति जहाँबाट पनि सुरु हुन्छ । जबसम्म हामी जनताको पीडा सुन्दैनौं, क्रान्ति गर्न सक्दैनौं’ले फिल्मको मर्म बोकेको छ । फिल्मको ट्रेलर हेर्दा जेनजी पुस्ताप्रति फिल्म समर्पित रहेको बुझ्न सकिन्छ ।
रमेश कोइरालाको निर्देशन रहेको फिल्ममा बेनिशासहित रमेश बुढाथोकी, नरेन खड्का, नीर शाह, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, विनोद न्यौपाने, गीता अधिकारी लगायतको अभिनय छ । दिनेश कोइरालाको कथा तथा निर्माण रहेको फिल्ममा कल्पना पौडेल प्रस्तुतकर्ता तथा सूर्य कान्त कोइराला र महेश कोइराला सह–निर्मातामा छन् ।
फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन, कमल राई र कविराज गहतराजको नृत्य, एनबी महर्जनको द्वन्द्व निर्देशन, विश्वप्रकाश शर्मा, अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत तथा तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।







