काठमाडौं । हाँस्य कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) को मुख्य भूमिका तथा निर्देशनमा तयार भएको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक हुनासाथ दर्शकको रोजाईमा परेको छ । ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ट्रेलरमा एक गाउँले युवकको काठमाडौँ छिरेपछिको सङ्घर्ष, पारिवारिक सम्बन्ध र मित्रताको कथालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ । ट्रेलरमा देखिएको आमाछोराको भावनात्मक सम्बन्ध र शहरको कठोर वास्तविकताले धेरै दर्शकलाई भावुक बनाएको छ ।
मरिचमान श्रेष्ठको स्वर रहेको ‘ओ हेलो हाई हाई’ बोलको गीत पनि टिकटक र युट्युबमालोकप्रिय बनेको छ । मरिचमान श्रेष्ठ र वर्षा सिवाकोटी फिचर्ड यो गीतले दर्शकलाई डान्सिङ बिटमा झुमाएको छ । ट्रेलर हेरेपछि एक दर्शकले ‘ट्रेलर हेर्दा मनै छुन्छ, गाउँबाट शहर आएर सङ्घर्ष गर्ने हरेक युवाको कथा यसमा झल्किएको छ ।’ भनी लेखेका छन् ।
त्यस्तै अर्का दर्शक लेख्छन्, ‘बल्छी धुर्बे दाइको अभिनय सधैं प्राकृतिक लाग्छ । हाँसो र आँसु दुवैको समिश्रण ट्रेलरमा देखियो, फिल्म सुपरहिट हुने पक्का छ ।’
बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्ममा बल्छी र वर्षा शिवाकोटीसँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।
फिल्मको कथा र निर्देशन स्वयं मरिचमान श्रेष्ठले गरेका हुन् । उनको यो पहिलो फिचर फिल्म निर्देशन हो । फिल्म आगामी माघ १ गतेबाट रिलिज हुँदैछ ।







