हरामीमा निश्चलको केमियो

काठमाडौँ । कलाकार तथा निर्देशक निश्चल बस्नेतले वेब सिरिज ‘हरामी’मा केमियो गरेका छन् । नेपाली फिल्म तथा कन्टेन्टको समीक्षा गर्दै आएका विश्वास तिम्सिना ‘बिटी कान्छा’को लेखन तथा निर्देशनमा बनेको वेब सिरिज ‘हरामी’ मा बस्नेत देखिएका हुन् । ५ भागमा निर्माण गरिएको यो वेब सिरिज बिटी कान्छा नामक युट्युब च्यानलमार्फत हेर्न सकिन्छ ।

प्रत्येक भाग करिब २५ मिनेट लामो छ ।निर्देश्क तिम्सिनाले प्रत्येक भागमा नेपाली फिल्म क्षेत्रका स्थापित कलाकारलाई अतिथि कलाकारका रूपमा प्रस्तुत गर्ने योजना अनुरूप निश्चललाई अभिनय गराइएको बताए । सिरिजमा निश्चलसहित आयुष्मान डिएस जोशी, आना शर्मा, गौमाया गुरुङलगायतका कलाकारको अभिनय छ । निर्देशक तिम्सिनाले युवा दर्शकलाई लक्षित गर्दै फरक स्वादको कन्टेन्ट प्रस्तुत गर्ने उद्देश्यले सिरिज निर्माण गरिएको बताए । ‘विश्वभरका वेब सिरिजमा प्रत्येक भागमा स्थापित कलाकारलाई अभिनय गराउने चलन नै छ । त्यसैको निरन्तरता हामीले यहाँको वेब सिरिजमा दिएका हौँ’, उनले भने ।

सिरिजको कथा एउटै फ्ल्याटमा बस्ने ३ जना युवाको जीवन वरिपरि घुम्छ, जहाँ प्रेम, करिअर र सम्बन्धका आयामहरू प्रस्तुत गरिएका छन् । भारतको कालिम्पोङबाट नेपाल आउँदा निर्देशक निकुन श्रेष्ठको घरमा बसेका बेला उनका बुबाआमा अमेरिका रहेका कारण उनी एक्लै बस्दै साथीहरूसँग स्वतन्त्र जीवन बिताइरहेको देखेपछि त्यसैबाट सिरिजको आधार तयार भएको तिम्सिनाले खुलाए ।

मन प्रोडक्सनसँग आबद्ध निकुन सिरिजका कार्यकारी निर्मातासमेत हुन् । यसमा सफल केसी निर्माता र प्रतीक गुरुङ क्रिएटिभ प्रोड्युसर छन् । यी दुवै फिल्म ‘हरि’ का लेखक तथा निर्देशक हुन् । सिरिजका नियमित कलाकारमा निकुन श्रेष्ठसँगै ऋषिकेश बस्याल, शशांक बोहरा र रक्षा थापा रहेका छन् ।