काठमाडौँ । अभिनेता सौगात मल्ल आगामी माघ १ गतेबाट दर्शकमाझ फिल्म ‘भाईरल गोर्खे’ लिएर आउँदैछन् । सामाजिक सञ्जाल टिकटकले मानिसको जीवनमा पार्ने सकारात्मक र नकारात्मक प्रभावका विषयमा तयार पारिएको यो फिल्ममा उनी ‘गोर्खे’ चरित्रमा देखिँदैछन् । फिल्ममा टिकटकरको भूमिका निभाए पनि उनले जीवनमा कहिल्यै टिकटक बनाएनन् र चलाएनन् । त्यसकारण उनी अरुको टिकटकमा पनि कमै उपस्थित भए ।
‘मैले टिकटकलाई गम्भीर रूपमा कहिल्यै लिइनँ र लिएको पनि छैन । त्यसकारण मैले टिकटक चलाइनँ । भाइरल गोर्खेमामा अभिनय गरेपछि मात्र टिकटकबारे विस्तृत थाहा पाएँ’, उनी भन्छन् । फिल्ममा सौगातले अभिनेता शिव श्रेष्ठको चरित्रलाई प्रस्तुत गरेका छन् । फिल्ममा गोठालो देखिने सौगात अभिनेता शिवको फ्यान हुन्छन् । जसकारण उनी शिवको अभिनय रहेको अधिकांश गीतमा टिकटक बनाउँछन् ।
सौगातले फिल्मले सामाजिक सञ्जालका कारण मान्छे कसरी भाइरल हुन्छ भन्ने कुरा देखाउने बताए । फिल्ममा उनको अपोजिटमा सृष्टि श्रेष्ठ छिन् । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कुलको ब्यानरमा निर्माण भएको फिल्ममा सौगात र सृष्टिसहित बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, ऋषि धमला, मिस पबीको पनि अभिनय छ ।
अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवलजंग कुँवर निर्माता रहेको फिल्मको सह–निर्माता शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल हुन् । कार्यकारी निर्मातामा निर्वाण फिल्म स्कुल र केदार श्रेष्ठ छन् । फिल्मका निर्देशक निगम श्रेष्ठ हुन् ।







