बल्छी ध्रुवेको गोबर गणेशलाई अग्रजको साथ

काठमाडौं । मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को निर्देशन तथा मुख्य अभिनय रहेको फिल्म ‘गोबर गणेश’ को रिलिज मिति नजिकिँदै गएपछि फिल्मका निर्देशकसहित कलाकार टिमले अग्रज कलाकारलाई भेट्ने क्रमलाई बाक्लो बनाएका छन् । निर्देशक बल्छी धुर्वे र उनको टिमले अभिनेता राजेश हमाल, कलाकार मदनकृष्ण श्रेष्ठ, नीर शाह, अभिनेता दीपकराज गिरी र निर्देशक दीपाश्री निरौलालगायतलाई भेटेर शुभेच्छा र साथ लिएका छन् ।

कलाकारहरूले बल्छी धुर्वेको मेहनत र इमानदारिताको मुक्तकण्ठले प्रशंसा गरेका छन् । सानो पर्दा (टेलिभिजन)को एउटा कलाकारका रूपमा सुरु भएको उनको यात्रा आज ठूलो पर्दाको नायक र निर्देशकको तहसम्म पुग्नु सबैका लागि प्रेरणादायी रहेको उनीहरूको भनाइ छ ।

कलाकारहरूले बल्छीको साहस र लगनशीलताले नयाँ पुस्ताका कलाकारहरूलाई पनि मार्गनिर्देश गर्ने भन्दै फिल्मको सफलताको कामना गरेका छन् । बल्छी धुर्वे फिल्मसको प्रस्तुतिमा निर्माण भएको यो फिल्म आगामी माघ १ गते माघे संक्रान्तिको अवसर पारेर देशभर रिलिज हुँदैछ ।

फिल्ममा बल्छीसँगै, वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।