काठमाडौं । पूर्व उपरथी गायक भरतचन्द्र गुरुङको लोक रक गीत ‘छ सलाम मायालाई’ सार्वजनिक भएको छ । लामा गुरुङ सेवा समाजको आयोजनामा भएको कार्यक्रममा गौरव गुरुङको शब्द एवं मदनसिंह नेपालीको संगीत रहेको गीतको भिडियो सार्वजनिक गरिएको हो ।
संगीतकार नेपालीले लोक रकस्टारको रुपमा गायक भरतचन्द्रलाई पाएको बताउँदै उनले सुरक्षा सेवामा देशको सेवा गरेजस्तै अब सांगीतिक क्षेत्रमा पनि आफ्नो अवकास जीवनलाई उर्जामय बनाउने बताए ।
भिडियोका निर्देशक मिलन मोक्तानले भरतचन्द्रको उर्जा देखेर आफू लोभिएको बताउँदै गीतको अडियो अनुसार भिडियोलाई प्रस्तुत गर्न सकेसम्मको सिर्जनात्मक विवेक लगाएको खुलाए ।
गायक गुरुङले ‘छ सलाम मायालाई’ गाउँदाका अनुभव सुनाउँदै आफ्ना काका गीतकार गौरव गुरुङ पारिवारिक रुपमा जेनेरेशनको ज्ञाता भएको बताउँदै उनको सिर्जनाले आफूलाई उर्जा दिएको बताए ।







