देशभक्ति भावमा मातृभूमि बनाउँदै नरेन्द्र

काठमाडौं । नाटयकर्मी तथा कलाकार नरेन्द्र सेन्दाङले फिल्म ‘मातृभूमि’ निर्माण गर्ने भएका छन् । दिनेश लिङदेनको कथा र निर्देशन रहने फिल्मको छायांकन नेपालको काठमाडौं र पाँचथर तथा अमेरिकाको टेक्सास, न्युयोर्कमा हुनेछ । केही दिनपछिद्ध मुहुर्त गरि छायांकन गरिने फिल्ममा कविता राई लिङदेन कार्यकारी निर्माता छिन् ।

फिल्ममा नरेन्द्र नै प्रमुख भूमिकामा हुनेछन् । बाँकी कलाकार र प्राविधिकको नाम चाँडै सार्वजनिक गरिने नरेन्द्रले बताए । नरेन्द्रले विदेशमा रहँदा स्वदेश प्रतिको माया, राष्ट्र, राष्ट्रियता प्रतिको भावना र रोजगारि तथा अध्ययनको निम्ति विदेशमा रहेका नेपालीहरुको व्यक्तिगत कथाव्यथाहरुलाई फिल्ममा समेटिने बताए ।

मोरङ उर्लाबारीमा जन्मिएका नरेन्द्र व्यावसाय गर्ने सिलसिलामा हङकङ हुँदै हाल अमेरिकाको टेक्सासमा बस्छन् । बाल्यकालदेखि नृत्य र साहित्यमा रुची राख्ने नरेन्द्रले सडक नाटक, रंगमञ्च र नेपाली फिल्ममा पनि अभिनय गरेका छन् ।

‘क्षितिज पारिको गाउँ’, ‘अँध्यारो बस्ती’, ‘तुम्दङ’लगायत एक दर्जन नाटकमा अभिनय गरेका उनले तत्कालिन कलाश्री प्रतिष्ठान मोरङले आयोजना गरेको कला प्रतियोगितामा पुर्वाञ्चल प्रथम पुरस्कार पाएका थिए । राजेश हमाल, सिर्जना बस्नेत, विपना थापा, रोहित थेबेलगायतका कलाकार राखेर फिल्म ‘बगर’ निर्माण गरेका नरेन्द्रले ‘तिम्रै म हो नि’, ‘भेडिगोठ’, ‘पायल’ र ‘फेक फ्रेण्ड’ लगायतका फिल्ममा नायकको भूमिकामा अभिनय गरिसकेका छन् ।

उनी हङकङ नेपाल कला साहित्य संघ र एभर ग्रिन मल्टिपल आर्टस एण्ड कल्चरका संस्थापक अध्यक्ष पनि हुन् । उनले करिब तीन सय जति साहित्यिक सिर्जना गरेका छन् ।