प्रशान्त भन्थे–छोरीमा आमाको प्रतिविम्ब देख्छु

काठमाडौँ । आइतबार बिहान सन् २००७ को इण्डियन आइडल विजेता गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएपछि विश्वभरका नेपालीभाषी स्तब्ध छन् । ४२ वर्षकै उमेरमा अस्ताएका प्रशान्त विशेषत युवा संगीतकर्मीका लागि आइडल नै थिए । नेपालीभाषीले भारतीय टेलिभिजन कार्यक्रममा सहभागिता जनाउन सक्छ र विजेता पनि बन्न सक्छ भन्ने उदाहरण उनी थिए । उनी विजेता भएपछि भारतीय टेलिभिजन कार्यक्रममा नेपालीभाषीले सहभागिता जनाउने क्रम हालसम्म जारी छ ।

गायक तामाङ इन्डियन आइडलको उत्कृष्ट १० मा परेपछि नेपालीले ‘प्रशान्त तामाङ जिताउ अभियान’ नै चलाएका थिए । यो अभियानमा जोडिएका गीतकार तथा फिल्म निर्माता राजेश घतानी प्रशान्त अन्तिम १० मा परेपछि आफूले केही साथीलाई आग्रह गरेर दार्जिलिङ गएर कार्यक्रम गरेको स्मरण गर्छन् । ‘हाम्रो उद्देश्य प्रशान्तलाई विजेता बनाउनु थियो । हामीले त्यहाँ कार्यक्रम गर्ने र कार्यक्रमबाट संकलित रकम उहाँलाई जिताउन खर्च गर्न थाल्यौँ,’ उनी भन्छन् ।

कोभिड १९ का कारण आमा गुमाएपछि उनले परिवारलाई धेरै समय दिन थाले । निर्माता घतानीका अनुसार उनी श्रीमती काम विशेषले बाहिर जाँदा वा घरमा नहुँदा तीन वर्षकी छोरीको हेरचाह गरेर समय बिताउने गर्थे । श्रीमती एयरहोस्टेस भएको कारण घरमै बसेर छोरीको रेखदेख गर्ने जिम्मा उनकै हुन्थ्यो ।

‘आमा गुमाएपछि छोरीलाई उहाँले छाडेको मलाई याद छैन । कार्यक्रमकै प्रस्ताव आउँदा पनि श्रीमती काममा छिन् र बिदा मिलेको छैन भने अस्वीकार गर्ने गर्नुहुथ्यो । छोरीमा उहाँले आमाको प्रतिविम्व देख्ने गरेको बताउनुहुन्थ्यो’, निर्माता घतानीले भने ।

प्रशान्तले नेपाली फिल्म ‘गोर्खा पल्टन’ बाट अभिनयमा डेब्यू गरे । फिल्ममा लाहुरेको भूमिका निर्वाह गरेका गायक तामाङले गाएको गीत ‘जाउँला रेलैमा सरर, गोर्खा पल्टन’ लोकप्रिय भएको थियो । त्यसपछि उनले ‘अँगालो यो मायाको’, ‘किन मायामा’, ‘धड्कन भित्र’, ‘निशानी’, ‘परदेशी’, ‘परदेशी–२’ जस्ता फिल्ममा काम गरे । गत ५ मङ्सिरमा प्रदर्शन भएको फिल्म ‘पहिचानको लडाइँ’ उनले अभिनय गरेको अन्तिम फिल्म हो ।

ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोको श्रृङ्खला ‘पाताल लोक’ मा देखिएपछि अभिनेताको रूपमा तामाङको चर्चा भारतमा पनि भयो । त्यसपछि उनले भारतीय अभिनेता सलमान खानको चलचित्र ‘ब्याटल अफ गलवान’मा अभिनय गरे । यो फिल्म वैशाख ४ मा प्रदर्शन हुँदैछ । उक्त फिल्मको छायाङ्कन सकेर अभिनेता तामाङ स्वराङ्कन गर्ने तयारीमा थिए ।

उनको पार्थिव शरीरलाई जन्मथलो दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ । दार्जिलिङको जीटिए सरकारले सोमबार नयाँ दिल्लीदेखि गायक तामाङको शवलाई दार्जिलिङ लैजाने जनाएको छ । दिल्लीको हरिनगरस्थित दिनदयाल अस्पतालमा हाल शवपरीक्षण भइरहेको जनाइएको छ । गायक तामाङको बुबाआमाको निधन भइसकेकाले उनको पत्नी र ससुराली पक्षका आफन्त दिल्ली पुगेका छन् ।