चितवन । अभिनेता प्रदीप खड्काले रामनवमीको अवसरमा चितवनमा १८ डी सिनेमाको उद्घाटन गरेका छन् । उद्घाटनका क्रममा १८ डीको अनुभव लिदै अभिनेता खड्काले चितवन जस्तो पर्यटकीय गन्तव्यमा यस्तो आधुनिक प्रविधियुक्त सिनेमा थपिनु सकारात्मक भएको बताए । उनले सगरमाथा, रारा ताल लगायतका पर्यटकीय स्थललाई यस्तै प्रविधि मार्फत विश्वसामु प्रस्तुत गर्न सके पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने धारणा व्यक्त गरे ।
चितवनको भरतपुर स्थित सिजी ल्याण्डमार्कको दोस्रो तलामा सञ्चालनमा आएको १८डी सिनेमा फ्लाई ओभर ईन्टरटेनमेन्ट द्वारा संचालनमा ल्याईएको तेस्रो शाखा हो । यहाँ दर्शकले १७ फरक विषयवस्तुमा आधारित एनिमेटेड सिनेमा मार्फत विशेष प्रभाव सहितको मनोरञ्जन अनुभव गर्न सक्नेछन् । यो सिनेमामा एक पटकमा ८ देखि १० जना दर्शकले मात्र सिनेमाको मज्जा लिन सक्छन् । यहाँ सिनेमा हेर्दा पुरै सिट घुम्छ, हिउँ पनि झर्छ र पानी पनि पर्छ । हरेका सिनेमाको दृश्य अनुसारको १८ वटा अनुभूति दिलाउँछ ।
यसै क्रममा कम्पनीका प्रमुख राम थापाले दर्शकको मागलाई ध्यानमा राख्दै चितवनमा तेस्रो शाखा विस्तार गरिएको जानकारी दिए । उनले काठमाडौँको प्रवेशद्वारका रूपमा चिनिने चितवनमा यस सिनेमा मार्फत देशभरका दर्शकलाई आकर्षित गर्न सकिने विन्दूको रुपमा रहने बताए ।
कम्पनीले यसअघि काठमाडौँको सिटी सेन्टरमा पहिलो तथा पोखरा डिज्नील्याण्डमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको छ, जसको उद्घाटन गत साता महानायक राजेश हमालले गरेका थिए ।




