काठमाडौं । यही चैत्र २७ गतेबाट रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने पक्का भएको छ । यो मितिमा आउने भनी प्रचार गरिएका अन्य दुई फिल्म रिलिज नहुने भएपछि ‘राम नाम सत्य’का निर्देशक माइकल चन्द यतिबेला ढुक्ककासाथ फिल्मको प्रचारप्रसार गरिरहेका छन् । फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत चर्चामा छ ।
फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ ।
फिल्मकी नायिका दिव्या फिल्म ‘राम नाम सत्य’लाई लिएर उत्साहित छिन् । दिव्या भन्छिन्–‘फिल्मलाई लिएर निकै उत्साहित छु । मैले पहिले गरेको काम भन्दा भिन्न तरिकाले म आएको छु । काम पनि मैले धेरै देखाउन पाएको छु ।’
फिल्ममा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन् । दिव्या भन्छिन्–‘फिल्ममा एक्सन भरपुर छ । तर, यो एक्सन फिल्म मात्र होइन । यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ । सबै कुरा मिलेर एउटा उत्कृष्ट फिल्म बनेको छ ।’
यो फिल्ममा दिव्या सुशीलको जोडीको रुपमा छिन् । दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन् । माइकल चन्दको पटकथा तथा संवाद समेत रहेको यो फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ ।




