हलबाट रुँदै निस्किए लालीबजारका दर्शक

काठमाडौं । शुक्रबारबाट नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ लाई दर्शकले मन पराएका छन् । फिल्म प्रदर्शन भएदेखि नै फिल्मकी अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा, नवअभिनेत्री प्रशंसा सुवेदी, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई, म्याक्स दीपेश खत्री लगायतको टिम काठमाडौँ उपत्यकाको विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरिरहेका छन् ।

फिल्म हेर्न आएका अधिकांश दर्शक भावुक हुँदै हलबाहिर निस्किने गरेका छन् । फिल्मले आफ्नो आमाको महत्व र छोरी प्रतिको दायित्व झनै बढाएको प्रतिक्रिया दर्शकले दिएका छन् । एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ ।

अभिनेत्री स्वस्तिमा खड्काले आफूहरुले देखाउन र भन्न खोजेको कुरालाई दर्शकले प्रष्ट बुझेको बताइन् । ‘महिला मात्र होइन, पुरुष दर्शकको आँखा पनि रसाएका छन् । फिल्म हेर्नेले यो कुनै समुदाय वा वर्ग विशेषको नभई सम्पूर्ण आमा र छोरीको कथा भन्नुभएको छ’, उनले भनिन् ।

निर्देशक तथा लेखक यम थापाले फिल्मको बारेमा गरिएको अड्कलबाजी फिल्म हेरेपछि स्पष्ट हुने बताए । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ।