काठमाडौं। अमेरिकामा बसोबास गर्ने एक नेपाली दम्पतीले आफ्नो वैवाहिक जीवनको पच्चीसौँ वर्षगाँठ वैदिक विधिअनुसार पुनर्विवाह गरेका छन् । सन् २००१ मा काठमाडौंमा आयोजित ‘मिस्टर एण्ड मिस युनिभर्सिटी नेपाल’ प्रतियोगिताबाट सुरु भएको परिचय पच्चीस वर्षपछि अमेरिकामा पुनः वैवाहिक समारोहसम्म आइपुगेको छ। पोखराबाट सहभागी भएका बिकास गौतम र काभ्रेबाट सहभागी भएकी रिना केसीले आफ्नो वैवाहिक जीवनको रजत जयन्तीका अवसरमा अमेरिकाको म्यारिल्याण्ड राज्यस्थित हिन्दु–बुद्ध मन्दिरमा गत आइतवारका दिन वैदिक विधिअनुसार पुनः विवाह गरेका हुन्।
त्यस समयमा २१ वर्षीय विकास ‘मिस्टर युनिभर्सिटी नेपाल’ तथा १८ वर्षीया रिना ‘मिस युनिभर्सिटी नेपाल’ घोषित भएका थिए। प्रतियोगिताका क्रममा सामान्य चिनजानमा रहेका उनीहरूले सन् २००१ जनवरी २८ मा अमेरिकाको न्यूयोर्कस्थित म्यानहट्टन सेन्टरमा आयोजना गरिएको ‘मिस्टर एण्ड मिस युनिभर्सिटी वर्ल्ड ब्युटी पेजेन्ट’ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका थिए। उक्त कार्यक्रम ‘वर्ल्ड कल्चर एण्ड स्पोर्ट्स फेस्टिभल २००१’ अन्तर्गत सम्पन्न भएको थियो, जहाँ २८ देशका प्रतियोगीहरूको सहभागिता रहेको थियो। सोही क्रममा उनीहरूको सम्बन्ध क्रमशः नजिकिएको बताइन्छ।
विकासका अनुसार प्रतियोगितापछि छोटो बसाइँमै नेपाल फर्कने योजना रहे पनि अमेरिकामा सँगै बिताएको समयले उनीहरूको सम्बन्धलाई नयाँ मोड दियो। प्रतियोगिताबाट सुरु भएको मित्रता क्रमशः प्रेममा परिणत भयो र त्यसपछि उनीहरूले अमेरिकामै विवाह गरेर संयुक्त जीवनयात्रा सुरु गरेका थिए। उनीहरूको विवाहमा गायक प्रेमराज महतले कन्यादान गरिदिएका थिए। गौतम दम्पतीका दुइसन्तान छोरा रिजेन गौतम र छोरी बेला गौतम छन्।
सन् २०२४ मा फिल्म निर्देशक गोपालचन्द्र लामिछाने र गीता गिरी लामिछानेले आफ्नो वैवाहिक जीवनको पच्चीसौँ वर्षगाँठमा वैदिक विधिअनुसार पुनः विवाह गरेपछि यस्ता कार्यक्रमप्रति समुदायमा थप चासो बढेको हो ।





