मन बिनाको धन २ मा पूजा अनुबन्ध

काठमाडौं। गतवर्षको हिट फिल्म ‘मन विनाको धन’को सिक्वेल ‘मन विनाको धन २’बन्ने भएको छ । गत वर्ष बक्स अफिसमा ४ करोड ग्रस गरेको यो फिल्ममा संगीतकार टंक बुढाथोकीकै निर्देशन रहनेछ । अघिल्लो फिल्ममा पनि उनकै निर्देशन थियो ।

फिल्मको मु्ख्य भूमिकामा अभिनेत्री पूजा शर्मा अनुबन्धित भएकी छन् । पूजा र टंकबीच आइतबार फिल्मका लागि कागजी सम्झौता भएको हो । भदौबाट छायांकनमा जाने फिल्ममा शिवम अधिकारीको पटकथा तथा संवाद रहनेछ । टंक वुढाथोकी प्रोडक्सनको दोस्रो प्रस्तुति रहेको फिल्मका लागि शिवमले धमाधम कथा लेखिरहेका छन् । फिल्ममा कथा र संगीत पनि टंककै रहनेछ ।

फिल्मका अन्य कलाकारका बारेमा निर्माण पक्षले केही खुलाएको छैन । नायिका शर्माले पनि फिल्ममा जोडिन पाउँदा आफू खुशी भएको बताइन् । ‘फिल्मको कथावस्तु निकै पारिवारिक छ । मलाई आफ्नो भूमिका र टिम नै मन परेका कारण काम गर्न तयार भएको हुँ,’ उनले भनिन् ।

फिल्ममा विष्णु माया मैनालीको निर्माण रहनेछ ।