काठमाडौं । फिल्म ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । सोमबार फिल्मको स्क्रिप्ट पूजा गर्दै वैचारिक भिन्नता र सम्बन्धको कथा बोल्ने यो फिल्मको मुहूर्त गरिएको हो । निर्देशकसहित प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा भएको मुहुर्तमा पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका थिए । उनको पहिलो सटले फिल्मको नाम कसरी राखिएको भन्ने प्रस्ट पार्छ ।
मुहूर्तमा हरिवंशसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकार उपस्थित थिए । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने फिल्म जेठ १५ बाट छायांकनमा जानेछ । फिल्मको सुटिङ सेड्युल ४५ दिनको रहेको छ । धनकुटा, सुनसरी र काठमाडौंमा छायांकन हुनेछ । यो फिल्म माघ १ गतेबाट प्रदर्शनमा आउनेछ ।
गत वर्षको ब्लकबस्टर मुभी ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्दैछन् । फिल्ममा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले फिल्म निर्माण गर्न लागेका हुन् ।
फिल्ममा हरिवंशसँगै प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी, हरिस निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायत कलाकार मुख्य भूमिकामा छन् ।
कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । फिल्मले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाउने निर्माणपक्षले बताएको छ ।
उमेशकुमार बराल निर्माता रहेको यस फिल्मको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री छन् ।





