सुशीला भन्छिन्ः एक मुठ्ठी बादलमा आधुनिक र पारिवारिक समाजबीचको टकराव

काठमाडौं । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘एक मुठ्ठी बादल’ले आइतबार साँझ राजधानीमा प्राइभेट स्क्रिनिङ गरेको छ । पूर्व प्रधानमन्त्री सुशीला कार्की, काग्रेस नेता सुनिलकुमार थापा, संगीता थापा, पत्रकार नारायण वाग्ले, निर्देशक अमन प्रताप अधिकारीलगायतको उपस्थितिमा स्क्रिनिङ राखिएको थियो ।

फिल्म हेरेपछि पूर्वप्रधानमन्त्री कार्कीले फिल्म निकै मन परेको बताइन् । ‘म फिल्म निकै कम हेर्ने मान्छे हुँ । अहिले हेरेँ भनेपनि पुरानो फिल्महरु हेर्छु । यो फिल्म बनाउने निर्माताको आमा निताजीले निम्तो दिनुभएकोले आएकी हुँ । उहाँ र म एउटै कम्युनिटी न्यायधिस हौं’, उनले भनिन्, ‘‘मलाई यो फिल्म आर्ट सिनेमा जस्तो लाग्छ । दोस्रो नम्बरमा यसले अहिलेको समाज देखाएको छ । तेस्रो नम्बरमा यो मध्यम वर्गिय परिवारको कथा हो । अनि मात्र मलाई लाग्छ, दुई दिन अर्थात् एक रात र भोलीपल्टको कथा हो । अझै भनौ समाजको द्धन्द्व पनि हो । मानौं बाउआमा पुरानो पुस्ता र छोराछोरी जेन्जी । अहिलेको सन्तानमा पुरानो संस्कारलाई एसेप्ट गर्न अलि गाह्रो नै पर्छ । आधुनिक र पारिवारिक समाजबीचको टकरावलाई फिल्ममा हेर्न पाइन्छ ।’

सुनिलकुमार थापाले पनि फिल्मले देखाउन खोजेको सन्देश मार्मिक रहेको बताए । रियालिटी शोका निर्देशक अमन प्रताप अधिकारीले नेपालमा बनेको अहिलेसम्मकै उत्कृष्ट फिल्म रहेको बताए ।

साहारा शर्माको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा आँचल शर्मा, निशा शर्मा, उषा रजक, भिमा मैनाली, अस्मिता गौतम, शेखर चापागाईँ, मनिष निरौला, सहयोग अधिकारी, गौरव विष्ट, अविरलप्रताप अधिकारीलगायतका कलाकारको अभिनय रहेको छ । फिल्मअभिमन्यु दीक्षितले निर्माण गरेका हुन् भने निकुन श्रेष्ठ कार्यकारी निर्माता छन् । निर्माण टोलीमा जर्मन निर्माता सारा फाजिलात, सामीप्य राज तिमल्सेना र अनुप पौडेल रहेका छन् ।