काठमाडौं । वैशाख २५ देखि नेपालभर प्रदर्शनमा आएको फिल्म ‘लालीबजार’ हेर्ने दर्शकसँग भेटघाट गर्न कलाकारसहितको टिम सुर्खेत र नेपालगंज पुग्ने भएको छ । अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, निर्देशक यम थापा, कार्यकारी निर्माता तथा पटकथाकार प्रदीप भट्टराई लगायतको टिमले सुर्खेतबाट मोफसल यात्रा सुरुआत गरेको हो ।
वादी समुदायका आमाछोरीको कथारहेको फिल्म वादी अभियन्ताले समेत हेरेर सामाजिक सञ्जालमार्फत तारिफ गरिरहेका छन् । प्रदर्शनकै दिनदेखि काठमाडौँ उपत्यकामा विभिन्न फिल्म हलमा पुगेर दर्शक भेटघाट गरिरहेको टिमले केही दिन उपत्यका बाहिरका दर्शकसँग प्रत्यक्ष भेटघाट गर्दै साक्षात्कार गर्ने कार्यकारी निर्माता प्रदीप भट्टराईले बताए ।
उनले सुर्खेतबाट सुरू हुने यात्रा नेपालगंज हुँदै मोफसलका अन्य सहरमा पनि पुग्ने बताए । ‘हामी दर्शकलाई सरप्राइज दिन विभिन्न सहरमा पुग्नेछौँ, उहाँहरूले फिल्म हेरिरहदा अन्त्यमा हामीसँग साक्षात्कार गर्नुहुनेछ’, उनले भने ।
एकल आमाले सङ्घर्ष गरेर छोरीलाई पढाउने विषयले आँशु रोक्न नसकेको दर्शक प्रतिक्रिया छ । पहिलो दिन झैँ निर्माण टिम दोस्रो दिन शनिवार पनि उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक भेटघाट गरिरहेको छ ।
अभिनेत्री खड्कासँगै हल पुगेका डेब्यु अभिनेता विशाल देवकोटालाई दर्शकले ‘राम्रो अभिनय’ गरेको भन्दै प्रतिक्रिया दिए । फिल्ममा उनले निर्वाह गरेको ‘नारायण’ कै पात्रको नामले दर्शकले उनलाई हलमा बोलाए । जेनजी अभियन्ताकी रुपमा चिनिकिए कन्टेन्ट क्रिएटर प्रशंसा सुवेदी फिल्ममा स्वस्तिमाको छोरीको भूमिका निर्वाह गरेकी छिन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा आर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कडायत, निश्चल पन्थी र विरवल चौधरीलगायत कलाकारहरूको अभिनय रहेको छ ।





