काठमाडौं । अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइ एम जीतबहादुर’ को शीर्ष गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक गीतमा भारतीय गायक कैलाश खेरको स्वर, जितु नेपाल र राज सिंह सिधुको शब्द तथा बब एसएनको संगीत रहेको छ ।
गीतको दृश्यमा जितु नेपालले कलाकार बन्नकै लागि गाउँदेखि सहरसम्म आइपुग्दा विभिन्न चरणमा गरेका संघर्षलाई मोन्टाजका रुपमा देखाइएको छ । उनले एक दृश्यमा अवार्ड उचाल्नुले पनि अन्त्यमा उनले सफलता पाउँछन् भन्ने बुझ्न सकिन्छ । भिडियोमा वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री र देशभक्त खनाललगायतका कलाकारलाई पनि स्थान दिइएको छ ।
आगामी असार ५ गते रिलिज हुने फिल्ममा भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशन छ । फिल्ममा पवन खतिवडा, सारा शर्मा, अंशु महर्जन, राजन सिंखडा, निरज नेपाल, रोहित कार्कीलगायतका कलाकारको अभिनय छ ।
कर्मभूमि क्रिएशनको ब्यानरमा निर्माण भएको यस सिनेमाका कार्यकारी निर्माता निश्चल कुँवर र निरज नेपाल हुन् भने राजन सिंखडा र दीपेन्द्र अधिकारी सह–निर्माता रहेका छन् । भारतीय छायांकार अरविन्दको छायांकन रहेको सिनेमाको सम्पूर्ण पोस्ट–प्रोडक्सनको काम भारतमै गरिएको हो ।





