काठमाडौं । आगामी जेठ ८ गतेबाट रिलिज हुने फिल्म ‘काजी’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ३ मिनेट ६ सेकेण्डको ट्रेलरले फिल्मको कथावस्तुबारे संक्षिप्तमा प्रकाश पारेको छ । पारिवारिक सम्बन्धमा आउने उतारचढावलाई फिल्मले प्रस्तुत गर्ने संकेत ट्रेलरले गर्छ ।
ट्रेलरमा विपिन ‘काजी’ र केकी ‘कजिनी’ पात्रको रुपमा प्रस्तुत छन् । विवाह पश्चात एक जोडीको प्रेमलाई सुन्दर ढंगले देखाइएको छ । ट्रेलरमा फिल्मको मेकिङ ग्राण्ड देखिनुका साथै त्यसमा समावेश संवादले दर्शकको ध्यान खिच्न सफल छ ।
रामप्रसाद रिजालको प्रस्तुति रहेको फिल्ममा विपिन र केकीसहित गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा र बाल कलाकार दिक्षिता अर्याल लगायतको अभिनय छ ।
रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको लेखन रहेको सिनेमामा चिन्तन राजभण्डारीको छायांकन, कालिप्रसाद बास्कोटाको संगीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रंग संयोजक श्याम कुँवर, सागर अर्यालको साउण्ड डिजाइन र सुजिल कर्माचार्यको पार्श्व संगीत छ ।
क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरज, प्रोडक्सन हेड प्रकाश हमाल, सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक बिपिन मल्ल रहेको सिनेमाको कार्यकारी निर्मातामा असिम काफ्ले र निर्माता नेहान रिजाल, विकाश राज जोशी छन् । श्रीराम बालाजी फिल्मस्ले नेपालभर वितरण गर्नेछ ।





