काठमाडौं । अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको ‘तेश्रो युवा लघु सिनेमा प्रतियोगिता’मा उज्जवल श्रेष्ठको ‘ईग्लू’ उत्कृष्ट फिल्म घोषित भएको छ । एक लाख पुरस्कार पाएको यो फिल्मले लागुऔषधमा फसेकी बहिनी र उसको दाजुबिचको सम्बन्धलाई कसरी एक स्वैरकाल्पनिक पात्रले बाटो देखाउँछ भन्ने कथा पेश गर्छ ।
काठमाडौँको सुकेधारास्थित कलेजकै ‘साधना घर’ प्रेक्षालयमा सम्पन्न उत्कृष्ट दश फिल्मको प्रदर्शनी तथा पुरस्कार घोषण एवम् वितरण कार्यक्रमा निर्णायकहरू शवनम मुखिया, सुजित बिडारी र नविन चौहानले विजेताहरू घोषणा गरेका थिए । दोश्रो पुरस्कार सफल रेग्मीको ‘उल्झन’ले पाएको थियो भने तेश्रो पुरस्कार विप्लव विश्वासको ‘सकर–बकर’ले पाएको थियो ।
‘उल्झन’ले प्रविधिका कारण भूलवश ऐठन खेपिरहेको जोडी र ‘सकर–बकर’ले प्रयोगवादी शैलीमा कथा भनेको थियो । ‘उल्झनले’ ५० हजार र ‘सकर–बकर’ले २५ हजार रुपैंयाँ पुरस्कार प्राप्त गर्यो । जुरी पुरस्कार मिङ्ला लिम्बुको ‘खेने नु आङ्गा’ले पाएको थियो जसले कवितात्मक ढङ्गले दुई युवतीको सम्बन्धको कथा पेश गरेको थियो । जुरी पुरस्कार सहित सबै विजयीहरूले यदि कलेज भर्ना हुन चाहेको खण्डमा कलेजले पचार प्रतिशत छात्रवृत्ती प्रदान गर्ने आयोजकले जनाएको छ ।
२० वर्षमुनिका प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्यका साथ सुरूवात भएको यस प्रतियोगितामा प्रत्येक वर्ष सहभागी युवा सिनेमाकर्मीहरूको संख्या बढेर यस वर्ष ४० भन्दा बढिले सिनेमा बुझाएको र तीमध्ये २१ जनाका सिनेमा प्रतियोगिताको लागि योग्य ठहरिएको कलेजको दावी छ ।






