सकम्बरीबाट जीवनको पुनरागमन

काठमाडौं । एक समय नेपाली फिल्ममा ‘रोमान्टिक हिरो’को छवि बनाएका अभिनेता जीवन लुइँटेल ७ वर्षपछि फिल्म ‘सकम्बरी’मार्फत अभिनयमा फर्किने भएका छन् । फिल्मसम्बन्धी अध्यापन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको ‘सकम्बरी’का लागि उनले बुधबार सम्झौता गरेका छन् । फिल्ममा अभिनेता अर्पण थापाको पनि अभिनय हुनेछ ।

जीवनले फिल्ममा जोडिन पाएकोमा सामाजिक सञ्जालमार्फत खुसी व्यक्त गरेका छन् । ‘केही वर्षको कमर्सियल ब्रेकपछि म फर्किएको छु । फिल्म ‘सकम्बरी’मा ‘सुयोगवीर’को रूपमा फर्किंदै छु । मैले धेरै पटकथाहरू खोजेँ, तर मेरो मनलाई पछ्याएँ र यो रोजेँ । अनुभवी अर्पण थापासँग स्क्रिन सेयर गर्न म उत्साहित छु,’ उनले लेखेका छन् । फिल्ममा उनले ‘सुयोगवीर’को भूमिका निर्वाह गर्नेछन् ।

गत महिना कान्तिपुर थिएटरले मञ्चन गरेको नाटक ‘शिरीषको फूल’मा पनि जीवनले ‘सुयोगवीर’कै भूमिका निभाएका थिए । अर्पण भने ‘शिवराज’को भूमिकामा देखिने छन् ।कान्तिपुर एकेडेमीका सिइओ प्रकाश पुरीले ‘शिरीषको फूल’को ‘सकम्बरी’ पात्रबाट प्रभावित भएर फिल्म बन्न लागेको बताए ।

दोस्रो विश्वयुद्ध कालखण्डको दृश्य उतार्नुपर्ने भएकाले फिल्मलाई म्यानमार (बर्मा) र नेपालमा छायांकन गर्ने तयारी गरिएको छ’, उनले भने, ‘फिल्मको छायांकन तिहारपछि सुरु हुनेछ । निर्देशक र मुख्य अभिनेत्री (सकम्बरी)बारे आगामी साता सार्वजनिक गर्नेछौँ ।’