काठमाडौं । बि एण्ड बि टेक ग्रुपले ‘तिम्रो टिकट’ नामक ई–टिकेटिङ मोबाइल एप सार्वजनिक गरेको छ । सन् २०१८ मा विद्यालयकालीन साथीहरू डा. विकाश लम्साल र इन्जिनियर विमलकुमार केसीद्वारा स्थापना गरिएको बि एण्ड बि टेकले सन् २०२२ मा ‘बि एण्ड बि टेक ग्रुप’को रूपमा पुनःब्रान्डिङ गरेको थियो । यो टेकले जापानका प्रतिष्ठित संस्थाहरू तथा कम्पनीहरू जस्तै काजिमा कर्पोरेशन, एनएआइटी कर्पोरेशन तथा आइबिएमसँग सहकार्य गर्दै आएको छ ।
कार्यक्रममा बि एण्ड बि टेक ग्रुपसँगै बि एण्ड बि टेक्निकल रिसर्च इन्स्टिच्युट, फिस्टेल एकेडेमी ब्रिज तथा हाकिम इन्टरटेन्मेन्टको संयुक्त सहकार्यको औपचारिक घोषणासमेत गरिएको थियो । यी संस्थाहरूले प्रविधि, अनुसन्धान, शिक्षा, सीप विकास तथा मनोरञ्जन क्षेत्रलाई एकै मञ्चमा जोड्दै नेपालमा नवीन अवसरहरू सिर्जना गर्ने लक्ष्य लिएको जनाइएको छ ।
ग्रुपका अध्यक्ष तथा सह–संस्थापक डा लम्सालले नेपालबाट जापानसम्मको आफ्नो संघर्ष, उपलब्धि तथा अन्तर्राष्ट्रिय अनुभवहरू सहभागीहरूसँग साझा गरेका थिए । नेपाली र्याप कलाकार सुरेन्द्र गुरुङ (हाकिम)ले फेशन मोडलिङदेखि नेपाली हिप–हप संगीत क्षेत्रमा स्थापित कलाकार बन्ने आफ्नो प्रेरणादायी यात्राबारे अनुभव सुनाएका थिए ।
फिस्टेल एकेडेमी ब्रिजका प्रमुख सञ्चीव अर्यालले नेपालका युवाहरूलाई जापानस्तरीय भाषा, सीप तथा व्यावसायिक दक्षतासँग जोड्ने लक्ष्य रहेको बताए ।
कार्यक्रमको मुख्य आकर्षण बि एण्ड बि टेक ग्रुपद्वारा विकसित ‘तिम्रो टिकट’ ई–टिकेटिङ मोबाइल एपको औपचारिक सार्वजनिकरण थियो । कम्पनीका फुल–स्ट्याक डेभलपर आश्विन सुनारले ‘तिम्रो टिकट’ एपले विभिन्न कार्यक्रम, सांगीतिक कन्सर्ट, खेलकुद प्रतियोगिता, सांस्कृतिक गतिविधि तथा अन्य सार्वजनिक कार्यक्रमहरूको टिकट खरिद तथा व्यवस्थापन प्रक्रियालाई सरल र आधुनिक बनाउने बताए ।




