स्रष्टाहरुलाई भक्तराज प्रतिष्ठानको सम्मान

काठमाडौं । भजन सम्राट भक्तराज आचार्यको नाममा स्थापित भक्तराज आचार्य संगीत प्रतिष्ठानले संगीत र अभिनय विधाका कलाकारहरुलाई सम्मान गरेको छ ।

सिटी एक्सप्रेसको सहकार्यमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान–२०८२’ गायिका मीरा राणा र संगीतकार सीके रसाइलीलाई प्रदान गरियो । उनीहरूलाई जनही नगद १ लाख रूपैयाँ र ताम्रपत्रसहित सम्मान गरिएको हो।

त्यसैगरी, ‘सुशीला आचार्य सुस्वास्थ्य कामना सम्मान २०८२’ संगीतकर्मी दीपक थापा र अभिनेता पवन मैनालीलाई प्रदान गरिएको छ। उनीहरूलाई ५० हजार रूपैयाँसहित सम्मान गरिएको हो। यो सम्मान स्वास्थ्य उपचार आवश्यक पर्ने कलाकारहरूलाई प्रोत्साहन र सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानकी अध्यक्ष सुशीला आचार्य र सिटी एक्सप्रेस मनि ट्रान्सफरका संस्थापक तथा प्रबन्ध निर्देशक चन्द्र टण्डनले स्रष्टाहरुलाई सम्मान प्रदान गरेका हुन्। भक्तराजको २०८० साल फागुनमा निधन भएको थियो।