थलापति विजयः अभिनेता हुँदै जननायक

मुम्बई(एजेन्सी) । तमिल फिल्मका सुपरस्टार विजय जसलाई उनका फ्यान ‘थलापति’ पनि भन्छन् । पर्दामा उनको मास एक्सन बेजोड छ, फिल्मको माध्यमबाट फ्यानको हृदयमा बसेका विजयले राजनीतिमा पाइला चालिसकेका छन् । ५१ वर्षका विजयले तमिलगा वेट्री कझगम(टीभीके) नामको पार्टीबाट राजनीति सुरुवात गरेका छन् । उनको यो पार्टीले तमिलनाडु विधानसभा चुनाव २०२६ मा स्पष्ट बहुमत ल्याइसकेको छ । पहिलोपटक चुनावमा सहभागी यो पार्टीले बहुमत ल्याउनुमा विजयको लोकप्रियतालाई प्रमुख कारक मानिएको छ ।

विजयले अभिनयमा पाएको सफलता रातरात मिलेको भने होइन । उनको पहिलो फिल्म पूर्ण रुपमा फ्लप भएको थियो । तर त्यसपछि उनले हार मानेनन् र तीन दशक बढीको सफल फिल्मी करियर पछि उनी राजनीतिको थलापति बन्न तयार भए ।

के हो विजयको पुरा नाम ?
आज उनलाई फ्यानले थलापति विजयको नामले चिन्दछन् । तर कमैलाई मात्र उनको वास्तविक नाम थाहा छ । उनको पुरा नाम जोसेफ विजय चन्द्रशेखर हो । जसको जन्म सन् १९७४, जुन २२ मा मद्रासमा भएको थियो । उनका पिता एक फिल्म निर्देशक र आमा पाश्र्व गायिका हुन् ।

पिताले चम्काए विजयको करियर
विजयले १० वर्षको उमेरमा बाल कलाकारका रुपमा पहिलो फिल्ममा अभिनय गरेका थिए । त्यसपछि उनको पिताले निर्देशन गरेका कैयौं फिल्ममा उनले बाल कलाकारकै रुपमा काम गरे । त्यसपछि सन् १९९२ मा उनले प्रमुख कलाकारका रुपमा फिल्म ‘नालैया थीरपू’बाट डेब्यू गरे । यो फिल्म सुपर फ्लप भएको थियो ।

यसरी पाए थलापति उपनाम
विजयको करियरको कमाण्ड उनका पिताले सम्हाले र ‘सेन्दूरपण्डी’मा कास्ट गरे । यो फिल्म हिट बन्यो र विजयलाई एक मास हिरोका रुपमा स्थापित गरिदियो । यसपछि उनको पिताले ‘रसीगन’मा अभिनय गराए । यो फिल्म पनि हिट भएपछि उनलाई दर्शकले ‘थलापति’ उपनाम दिए ।

विजयको करियरमा टर्निङ प्वाइन्ट बन्यो यो फिल्म
विजयले फिल्म ‘देवा’मा काम गरे । यो फिल्म थिएटरमा सय दिनसम्म चलेको थियो । त्यसपछि उनले अजित कुमारसँग ‘राजावीन परभैयिले’मा काम गरे । सन् २००० पछि विजयले ‘वसीगरा’, ‘पुढिया गीतई’ र ‘तिरुमलई’ जस्ता हिट फिल्म दिएर आफूलाई एक्सन हिरोको छवि दिलाए । फिल्म ‘तिरुमलई’ उनको करियरको टर्निङ प्वाइन्ट साबित भयो ।

व्यावसायिक सफलता
ठूलो संख्यामा हिट फिल्म दिएका विजयको खातामा अर्को एक ठूलो व्यावसायिक सफल फिल्म आउन बाँकी थियो । जुन फिल्म ‘घिली’बाट पुरा गरे । यो फिल्ममा तृषा कृष्णन र प्रकाश राजले पनि अभिनय गरेका थिए । यो फिल्मले बक्सअफिसमा ५ सय मिलियन रुपैंयाँ कमाई गर्ने पहिलो तमिल फिल्मको रेकर्ड राख्यो ।

राजनीतिमा विजयको प्रवेश
सन् २००९ मा विजयले आफ्नो फ्यान क्लब ‘विजय मक्कल अय्यकम’सुरु गरे । यो संगठनले सन् २०११ को तमिलनाडु विधानसभा चुनावमा एआईएडीएमके नेतृत्ववाला गठबन्धनको समर्थन गर्यो ।

उनको फ्यान क्लबका सदस्यले सन् २०२२ को तमिलनाडु स्थानीय चुनावमा चुनाव लडे र ११५ सिटमा जित हासिल गरे । सन् २०२४ फेब्रुअरी २ मा विजयले ‘तमिलगा वेट्री कझगम’को घोषणा गरे ।

सोमबार तमिलनाडु विधानसभा चुनावको नतिजा आइरहेको छ । फ्यानको नजर थलापतिको पार्टीतिर नै छ । विजय वास्तविक जीवनको जननायक बन्छन् या बन्दैनन् भन्नेमा धेरैको चासो छ ।