काठमाडौं । चुनावी माहोलमा रमिरहेको मुलुकमा यो फेब्रुअरीलाई लोकरक ब्याण्ड नेपथ्यले भने संगीतको महिना पनि तुल्याउने भएको छ । यो वर्ष दुइपटक गरेर स्वदेश यात्रा तय गर्न लागेको नेपथ्यले पहिलो चरण अन्तर्गत फेब्रुअरी चार तारिख (माघ २१ गते) देखि चार शहरमा कन्सर्ट घोषणा गरेको छ ।
यात्राको सुरुवात २१ गते बुधबारको साँझ हेटौंडाबाट हुनेछ । शहरको मध्यभागमा अवस्थित भुटनदेवी माध्यमिक विद्यालयको प्रांगणमा यो सिजनकै पहिलो नेपथ्य कन्सर्ट आयोजित हुनेछ । अघिल्लोपटक तीन वर्षअघि मानवसेवामा समर्पित भइ देश दौडाहा गर्दा पनि ब्याण्डले यो विद्यालय प्रांगणलाई आफ्ना लोकरक सुनाउनका निम्ति रोजेको थियो । यसपाला भने विद्यालयकै भैरव रोडसँग जोडिनेतर्फको मैदानमा नेपथ्य कन्सर्ट आयोजना हुँदैछ ।
हेटौंडा पछिको प्रस्तुती भने बुटवलमा आयोजना हुनेछ । ‘रोज डे’ अर्थात् गुलाफ आदान प्रदानको साँझ माघ २४ गते रामनगरस्थित ‘बुटवल इन्टरनेशनल कन्भेन्सन सेन्टर’मा ब्याण्डको प्रस्तुती रहनेछ । त्यसपछि नारायणघाटस्थित ‘क्याम्पा चौर’मा माघ २७ गते बेलुकी नेपथ्यका दर्शकहरुले संगीतमय साँझ अनुभव गर्नेछन् । ब्याण्डको चौथो प्रस्तुती बन्दीपुरमा हुनेछ ।
‘हामीले बारम्बार आफुलाई प्रस्तुत गर्दैआएको तीनवटै शहरबाट सदैव आत्मीय माया पाउँदै आएका छौं र त्यताका दर्शकहरुसँग फेरि पनि भेट्न आतुर छु,’ ब्याण्डका मुख्य गायक एवं अगुवा अमृत गुरुङ भन्छन्, ‘भिडभाडभन्दा परको चिटिक्क पहाडी बस्ती बन्दीपुरमा धेरैपटक पर्यटक भएर पुगेको मलाई यसपाला गायकको रुपमा पाइला राख्ने नयाँ अनुभवले हौस्याइरहेको छ ।’
कन्सर्टहरुलाई व्यवस्थित रुपमा सम्पन्न गर्न हेटौंडामा ‘रमाइलो इभेन्ट्स्’, बुटवलमा ‘ब्याकअप इभेन्ट म्यानेजमेन्ट’, नारायणघाटमा ‘नेपाल डायरीज’ र बन्दीपुरमा ‘खड्गदेवी बन्दीपुर युथ क्लब’ले स्थानीय आयोजकको दायित्व सम्हालेका छन् । यसरी पहिलो चरणमा चार शहरको प्रस्तुतीपछि नेपथ्यको यसवर्ष तोकिएको स्वदेश यात्रा दोश्रो खण्ड भने आगामी नोभेम्बर महिनामा आयोजना गरिनेछ । कन्सर्टहरुमा गायक अमृतलाई सदा झैँ ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनेछन् ।







