आना भन्छिन्–रमिताको पिरती आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतको यात्रा

काठमाडौं । आगामी माघ २३ गतेदेखि प्रदर्शन हुने फिल्म ‘रमिताको पिरती’ ट्रेलरका कारण चर्चामा छ । फिल्मको कथा महिला प्रधान भएकाले पनि फिल्मले चर्चा पाएको हो । साचो पिरतीको खोजीमा रहेकी रमिताको जीवनमा आउने उतारचढाव फिल्मको विषय हो । फिल्ममा नायिका आना शर्माले रमिताको भूमिका निभाएकी छिन् । उनीसँगै फिल्ममा धिरज मगर, विनय श्रेष्ठ र गायक समीर श्रेष्ठको अभिनय छ ।

फिल्मकी कार्यकारी निर्मातासमेत रहेकी आनाले ब्रेकअपपछि आफूलाई चिन्ने, स्वीकार्ने र रोज्ने एउटा भावनात्मक यात्राको कथा फिल्ममा देखाइने बताइन् । ‘रमिता पात्रको भावनात्मक यात्रालाई केन्द्रमा राखेर कथा अघि बढाईएको छ । फिल्म ब्रेकअपबाट सुरु भएपनि यो केवल ब्रेकअपको कथामात्र नभई, त्यसपछिको आत्मखोज, आत्मसम्मान र आत्मस्वीकृतिको यात्रा हो’, उनले भनिन् ।

आनाले रमिता चरित्र निभाउन निर्देशक सुदिप्तासँग ६ महिना बसेर पात्र विकास गरेकी थिइन् । उनले निर्देशक सुदिप्ता र निर्माता सागर लम्सालसँग नजिकबाट काम गर्दै कार्यकारी निर्माताको भूमिका पाएको बताइन् ।

‘सुरुमा हाम्रो कोर टिम नै सानो थियो । दैनिक मिटिङ, वर्कसप हुँदै सँगै निर्णय लिने अवस्थामा पुग्यौं । निर्माता सागरजीले म माथि विश्वास गरेर एक्जिक्युटिभ प्रोड्युसरको जिम्मेवारी दिनुभयो, जुन मेरो लागि सिकाइको ठूलो अवसर बन्यो’, उनले भनिन् ।

उनले फिल्ममा सोसल मिडियाको प्रभाव, बाह्य भ्यालिडेसनको खोजी र त्यसले व्यक्तिको मानसिक अवस्थामा पार्ने असरलाई चित्रण गरिएको बताइन् । सन्तोष लम्साल कार्यकारी निर्माता रहेको फिल्ममा आर.पी. प्रोडक्सन एसोसिएट निर्माता, निर्देशक समेत रहेका सुवास कोइराला सहनिर्माता छन् भने सागर लम्साल निर्माता छन् ।