काठमाडौं । फिल्म ‘रोल नं १’को निर्माण टिम फिल्म प्रचारका लागि यतिबेला आफ्नो लक्षित दर्शकलाई भेट्न मोफसलमा छ । पहिलो चरणमा निर्माण टिम पूर्वी नेपाल पुगेको छ ।
निर्माण टिमले झापा, मोरङ र सुनसरीमा पुगेर विद्यार्थीलाई भेटिरहेको छ । विद्यार्थीलाई भेट्न मोफसल पुगेको फिल्मको निर्माण टिमले प्रचारको नारा नै ‘हामी आउँदैछौँ तपाईंको कक्षाकोठामा सुन्न तपाईंको मन कुरा’ राखेको छ । यो फिल्मको स्लोगन ‘हरेक विद्यार्थी’को कथा रहेको छ ।
विद्यालयमा फिल्मका कलाकार र गायक पुगेर फिल्मबारे कुरा गर्न सुरु गरेका छन् र विद्यार्थीका कुरा पनि सुन्न थालेका छन् । प्रचार अभियानमा मुकुन भुसाल, रेणु योगी, कर्मा लामा र प्रशान्त शिवाकोटी सहभागी छन् ।
विनोद पौडेलको निर्माण रहेको फिल्मले विद्यार्थीको मनोविज्ञानको कथा भन्नेछ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो फिल्ममा समेटिएको निर्माण पक्षले बताएको छ ।
जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी र बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठको अभिनय छ ।





