काठमाडौँ। फिल्मको माध्यमबाट शिक्षालाई जीवन्त बनाउने उद्देश्यले सिद्धलेक गाउँपालिका वडा नं.२ स्थित नलाङ पात्ले माध्यामिक विद्यालय र सिद्देस्वर माध्यामिक विद्यालयमा चलचित्र साक्षरता कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको आयोजना चोया डिजिटल सोलुसनले गरेको हो भने कार्यक्रमको व्यस्थापन सेलिब्रेटी नेपालले गरेको हो।
कार्यक्रममा नेपाली फिल्म ‘झिगेदाउ’ प्रदर्शनी गरिएको थियो, जसमा दुई विद्यालयका शिक्षक तथा ५३० जना विद्यार्थीको सहभागिता रहेको थियो। श्री नलाङ पात्ले माध्यामिक विद्यालयबाट ३६० जना र श्री सिद्देस्वर माध्यमिक विद्यालयबाट १७० जना विद्यार्थी सहभागी थिए।
कार्यक्रममा चलचित्र विकास बोर्ड, संचार रजिष्टारको कार्यालय बागमती प्रदेश र सिद्धलेक गाउँपालिकाको सहकार्य रहेको थियो। फिल्म प्रदर्शनपछि विद्यार्थीहरूसँग छोटो अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा ‘झिगेदाउ’, ‘पुर्णबहादुरको सारङ्गी’ लगायत फिल्मका अभिनेता मुकुन भुसाल, निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजा, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा, फिल्म सम्पादक मित्र गुरुङको उपस्थिति थियो ।
चोया डिजिटल सोलुसन प्रा।लि।का अध्यक्ष राजकुमार सिलवालले फिल्म साक्षरताको अभियानले विद्यार्थीहरूमा दृश्य सञ्चारप्रति रुचि बढाउने विश्वास व्यक्त गर्दै ग्रामीण क्षेत्रमा यस्तो कार्यक्रम निरन्तर चलाउने प्रतिबद्धता व्यक्त गरे।
वडा अध्यक्ष सागर गुरुङले चलचित्र शिक्षाले बालबालिकामा सामाजिक चेतना, नैतिक शिक्षा र सिर्जनात्मक सोच विकासमा टेवा पुर्याउने बताए।
कार्यक्रममा नलाङ पात्ले माविका प्रधानाध्यापक रमेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबु श्रेष्ठ, सिद्देस्वर माविका सहायक प्रधानाध्यापक राजन कार्कीलगायतको उपस्थिति रहेको थियो।






