पोखरामा १८ डी सिनेमा सञ्चालनमा

पोखरा । फ्लाइ नेपाल इन्टरटेनमेन्टले शुक्रबारदेखि पोखरामा अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । यो सिनेमा पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ, जुन नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो। यसको पहिलो शाखा काठमाडौंमा छ भने दोश्रो शाखाको शुक्रबार अभिनेता राजेश हमालले उद्घाटन गरे ।

हमालले पोखराले अब फरक किसिमको सिनेमाटिक अनुभव पाउने बताए । ‘पोखरा आफैंमा सुन्दर सहर हो, यहाँ धेरै फिल्म छायांकन हुन्छन्। अब यो सिनेमा केवल मनोरञ्जन मात्र नभई नयाँ संसारको अनुभव हो,’ उनले भने । हमालले कार्यक्रममा पोखरामा आफ्नो करियरको तेश्रो फिल्म ‘देउकी’को छायांकन भएको दिनको सम्झना गरेका थिए ।

फ्लाइ नेपाल इन्टरटेनमेन्टका प्रमुख राम थापाका अनुसार काठमाडौंको भन्दा पोखराको प्रविधि अझ उन्नत छ । यस १८ डी सिनेमामा १० देखि ३० मिनेटसम्मका १७ वटा फरक कथात्मक संसारमा प्रवेश गर्ने अवसर पाउनेछन् । फिल्म हेरेर दर्शकले रोमाञ्चक अनुभव लिन सक्छन । यसमा कुनै चश्मा वा हेडसेटको आवश्यकता पर्दैन, जसले सबै उमेर समूहका दर्शकलाई सहज रूपमा आकर्षित गर्छ ।

कम्पनीका निर्देशक हिमाल थापाले पोखरामा यस प्रकारको सिनेमा सञ्चालनले साहसिक अनुभवलाई नयाँ उचाइ दिने विश्वास व्यक्त गरे । उनका अनुसार, अब पोखरेली दर्शकले साहसिकता बाहिरी गतिविधिमा मात्र होइन, भित्री अनुभूतिमा पनि महसुस गर्न सक्नेछन्।