इलिफेन्ट्स इन द फगलाई सम्मान

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म ‘इलिफेन्ट्स इन द फग’ का निर्माता, निर्देशक, कलाकार तथा प्राविधिक टोलीलाई दुई लाख ५० हजार रुपैंयाँसहित सम्मान गरेको छ ।

चलचित्र विकास बोर्ड र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान (नाथम)मा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना तथा प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असीम शाहले फिल्मको टोलीलाई सम्मान गरेका हुन्।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पौडेलले ‘इलिफेन्ट्स इन द फग’ ले अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउने महत्त्वपूर्ण काम गरेको भन्दै पछिल्ला वर्षहरूमा नेपाली फिल्मले उल्लेखनीय फड्को मार्दै देशको प्रतिष्ठा उचो बनाएको बताए । सूचना तथा सञ्चारमन्त्री डा. तिमिल्सिनाले फिल्मको टोलीले प्राप्त गरेको उपलब्धि केवल पुरस्कार नभई राष्ट्रकै लागि अमूल्य गौरव भएको बताए।

बोर्डका अध्यक्ष डीसीले ‘इलिफेन्ट्स इन द फग’ को सफलताले नेपाली फिल्म उद्योगलाई विश्वबजारमा आत्मविश्वासका साथ अघि बढ्ने प्रेरणा दिएको बताए।

फिल्मका निर्देशक अविनाश विक्रम शाहले यो उपलब्धि व्यक्तिगत नभई सम्पूर्ण नेपाली फिल्मकर्मीको साझा सफलता भएको बताए । सम्मान ग्रहण गर्न निर्देशक शाहसहित निर्माता अनुप पौडेल र प्रचण्डमान श्रेष्ठ, कलाकार पुष्पा थिङ लामा तथा फिल्मका अन्य कलाकार एवं प्राविधिक टोलीको उपस्थिति रहेको थियो।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले चलचित्रको अन्तर्राष्ट्रिय सफलताले नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।