काठमाडौं । फिल्म ‘जाँड’को ट्रेलर सार्वजनिक गरिएको छ । आगामी असार १२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको फिल्मको ट्रेलरमा समाजमा जरा गाडेर बसेका विभिन्न विकृति तथा कुसंस्कारविरुद्ध सशक्त सन्देश दिन खोजिएको छ ।
राजु शाहको निर्देशनमा निर्माण भएको फिल्मको ट्रेलरमा मद्यपानका कारण परिवारमा उत्पन्न हुने तनाव, कलह र त्यसले समाजमा पार्ने नकारात्मक प्रभावलाई मुख्य विषयवस्तुका रूपमा प्रस्तुत गरिएको छ । ट्रेलरले जाँड सेवन गर्ने व्यक्तिको व्यवहारले परिवारमा सिर्जना गर्ने समस्याका साथै पत्नी, छोरी र समाजले त्यस्ता व्यक्तिलाई हेर्ने दृष्टिकोणलाई यथार्थपरक ढंगले चित्रण गरेको देखिन्छ ।
छोराप्रतिको मोह र छोरीलाई हेर्ने विभेदपूर्ण दृष्टिकोणका कारण परिवार र समाजमा देखिने समस्या तथा त्यसविरुद्धको आवाजलाई चलचित्रले कथावस्तुको केन्द्रमा राखेको निर्माण पक्षले जनाएको छ ।
राजेन्द्र भट्टको निर्माणमा बनेको फिल्ममा सानबी खतिवडा, पदम गुरुङ, कमला दाहाल, रमेश उप्रेती, मञ्जु श्रेष्ठ, सुवास गजुरेल, रमेश अधिकारी, लक्ष्मी तिमिल्सेना, स्मारिका खनाल, किरणप्रताप केसी लगायतका कलाकारको अभिनय छ ।
सुकुलढोका मिडिया प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्मको कथा, पटकथा तथा संवाद सुनिलप्रसाद श्रेष्ठ, राजु शाह र राजेन्द्र भट्टले संयुक्त रूपमा तयार पारेका हुन् । फिल्मका निर्मातामा सुनिलप्रसाद श्रेष्ठ र राजेन्द्र शाह रहेका छन् ।
फिल्मको मुख्य सहायक निर्देशकमा शम्भु गौतम छन् भने किशोर डंगोल र नरेन्द्रकुमार केसी सह–निर्देशक छन् । दिपेन बस्न्यातले छायांकन तथा सम्पादन गरेको फिल्ममा योगेन्द्र श्रेष्ठको द्वन्द्व निर्देशन छ । फिल्मको बितरकमा दिपक दंगाल, नेशनल सिने ग्रुप नेपाल रहेको छ ।




