आँखा भरी आँसुमा सिम्रनको वेदना

काठमाडौं । फिल्म ‘गौँथली’को गीत सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै निर्माण टिमले फिल्मको गीत ‘आँखा भरी आँसु’ सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा थानेश्वर गौतम र शान्तिश्री परियारको स्वर रहेको छ । संगीत पनि थानेश्वर स्वयंको छ । गीतमा शब्द डा. भोला रिजालको छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार अरुण क्षेत्री, सिम्रन खड्का, प्रकाश घिमिरे, मदनकृष्ण श्रेष्ठ, सितादेवी तिमल्सिनालगायत छन् । गीतले माइतीघर छोडेर पराइ घर जानु पर्दाको क्षण समेटेको छ । आफू जन्मे हुर्केको घर, गाउँ, आमा, बुवा तथा आफन्तलाई चटक्क छोडेर विवाह गरेर अर्कैको घर जाँदाको वियोग गीतमा उल्लेख छ ।

आफ्नो छोरीलाई जतिसुकै माया गरे पनि विवाह गरेर दिनै पर्ने वाध्यात्मक संस्कार र त्यसले छोरीलाई दिने वियोग गीतमा समेटिएको छ । जन्म घर, आमा बुवा, साथीसंगी छोडेर रुँदैरुँदै पराई घर जाने छोरीमान्छेको कथा समेटेको गीतले कथा मन गाँठो पारेर छोरीलाई पराइको हात सुम्पिँदाको पीडा पनि देखाएको छ ।

कपिल रिजालले निर्देशन गरेको फिल्म साउन १ गतेबाट रिलिज हुँदै छ । डा. कपिल रिजालको निर्देशन रहेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको अभिनय रहेको छ । बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन् ।