विवाह गर्दै बाहुबली प्रभास

मुम्बई(एजेन्सी) । फिल्म ‘बाहुबली’बाट ख्याती कमाएका नायक प्रभासको युवती फ्यान कति छन् भन्ने कुरा भनिरहनु पर्दैन् । यो सबैमा जगजाहेर नै छ । लामो समयपछि बलिउडमा डेब्यु गर्न लागेका यी नायकको यतिखेर विवाह प्रसंगले फिल्म क्षेत्र गरमागरम बनेको छ । यो विषयमा उनका फ्यानका लागि एउटा राम्रो खबर पनि छ । भारतीय सञ्चारमाध्यमका अनुसार प्रभास यो वर्ष वैवाहिक जीवनमा बाँधिदैछन् ।

तेलुगू फिल्म उद्योगका चर्चित कलाकार तथा प्रभासका काका कृष्णम राजूले आफ्नो जन्मदिनको मौकामा मिडियासँग कुराकानी गर्दै यो कुराको खुलासा गरेका हुन् ।  ‘मलाई हरेक अन्तरवार्तामा प्रभासले कहिले विवाह गर्छन् भनेर सोध्ने गरिन्छ । प्रभासले यो वर्ष विवाह गर्न सक्छन् । किनकी उनले विवाहमा विशेष चासो देखाउन थालेका छन् ।’ उनले भनेका छन् ।

कृष्णम अनुसार प्रभासले बाहुबली पछि विवाह गर्ने तयारी गरिरहेका थिए । तर विवाहकै लागि समय निस्कन नसकेपछि उनले त्यो विवाह तयारीलाई त्यही रोकेका थिए ।  त्यसो त प्रभासको नायिका अनुष्का शेट्टीसँगको सम्बन्धलाई लिएर चर्चा पनि नभएको होइन । दुवैजना एकैपटक धेरै कार्यक्रममा सँगै देखिएका पनि छन् । हाल प्रभास फिल्म ‘साहो’को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनको अपोजिटमा श्रद्धा कपुर छिन् ।