सुनसरी । थारु समुदायको भाषा, संस्कृति र मौलिक पहिचानलाई फिल्ममार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यले सुनसरीको झुम्कामा आयोजित सातदिने अभिनयकला तालिम सम्पन्न भएको छ। चलचित्र विकास बोर्डको सहकार्य तथा थारु चलचित्र तथा सांस्कृतिक संघको आयोजनामा सञ्चालन भएको तालिममा उदयपुर, सुनसरी, सिराहा, सप्तरी र मोरङका गरी ५१ जना सहभागी थिए।
तालिममा प्रशिक्षक परशुराम चौधरी र विजय सुब्बाले अभिनयकलाका सैद्धान्तिक तथा व्यावहारिक पक्षबारे प्रशिक्षण दिएका थिए। सहभागीलाई नवरसको प्रयोग, चलचित्रका प्रकार, पात्र निर्माण, संवाद प्रस्तुति, हाउभाउ, भावभङ्गी, क्यामेरा अभिनय तथा अभिनयसँग सम्बन्धित आधारभूत सीपबारे अभ्यास गराइएको आयोजकले जनाएको छ।
तालिमको उद्घाटन चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले गरेका थिए। समापन समारोह आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिकी सदस्य–सचिव तथा चलचित्र विकास बोर्डकी अधिकृत अप्सरा समालको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा थारु चलचित्र तथा सांस्कृतिक संघका अध्यक्ष परशुराम चौधरीले तालिम सञ्चालनमा सहकार्य गरेकोमा चलचित्र विकास बोर्डप्रति धन्यवाद व्यक्त गरे। उनले यस्ता तालिमले थारु समुदायभित्र रहेका प्रतिभाको पहिचान र क्षमता विकास गर्नुका साथै मातृभाषी चलचित्र निर्माणमा नयाँ पुस्ताको सहभागिता बढाउने बताए।
उनले आगामी दिनमा थारु भाषा, संस्कृति, मौलिक कथा र समुदायका वास्तविक जीवनभोगाइलाई फिल्ममार्फत प्रभावकारी रूपमा प्रस्तुत गर्न यस्ता तालिमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।
आयोजकका अनुसार तालिमले थारु चलचित्रका लागि आवश्यक दक्ष कलाकार उत्पादन गर्नुका साथै स्थानीय प्रतिभालाई व्यावसायिक चलचित्र क्षेत्रमा प्रवेश गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




