स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिकामा स्थापित पुतलीबजार प्रज्ञा प्रतिष्ठानले तीन जना स्रष्टालाई सम्मान गरेको छ । लामो समयदेखि कला, साहित्य र सङ्गीतको क्षेत्रमा निरन्तर साधना गरी नेपाली वाङ्मयको श्रीवृद्धिमा योगदान पुर्याएका असफल गौतम, अनन्तकुमार श्रेष्ठ र लक्ष्मी रेग्मी खनाललाई शुक्रबार एक समारोहबीच सम्मान गरिएको हो ।
सम्मानित स्रष्टाहरूलाई जनही रु २० हजारसहित सम्मानपत्र र दोसल्ला हस्तान्तरण गरिएको हो । भाषा, कला, साहित्य, संस्कृति, सङ्गीतमध्ये जुनसुकै विद्यामा कलम चलाउने वा कृति प्रकाशन गर्ने स्रष्टालाई सम्मान गर्दै आइएको प्रतिष्ठानका कुलपति विश्वप्रेम अधिकारीले जानकारी दिए । ‘तीन जनाको मूल्याङ्कन उपसमिति बनाएर स्रष्टाहरूको छनोट गरेका हौँ’, उनले भने, ‘उपसमितिले विभिन्न आधार बनाई सोको परिधिभित्र रहेर तीन जना स्रष्टालाई सिफारिस गरेको थियो । समितिले उक्त नाम अनुमोदन गरेसँगै पुतलीबजार प्रज्ञा प्रतिष्ठानले सम्मान गरेको हो ।’
प्रज्ञा प्रतिष्ठानले विगत तीन वर्षदेखि नियमित रूपमा तीन(तीन जना स्रष्टालाई सम्मान गर्दै आइरहेको छ । प्रतिष्ठानबाट हालसम्म नौ जना स्रष्टा सम्मानित भइसकेका छन् । पुतलीबजार नगरभित्र रहेर भाषा, कला, साहित्य, संस्कृति, सङ्गीतका विद्यामा योगदान दिएका स्रष्टालाई सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ । आगामी दिनमा नगरभित्रका मात्रै नभइ अन्य क्षेत्रका स्रष्टालाई पनि समेट्दै जानुपर्ने विषयमा छलफल अगाडि बढाइएको प्रतिष्ठानका कुलपति अधिकारीले जानकारी दिए ।
लामो समयदेखि साहित्यका क्षेत्रमा कलम चलाउँदै आएका पुतलीबजार(७ का सम्मानित स्रष्टा गौतमले सम्मानले थप जिम्मेवारी बोध गराएको बताए ।




