रुपै मोहनीमा ५२ लाख बढी दर्शक

काठमाडौं । फिल्म ‘शत्रु गते’ को पहिलो गीत ‘रुपै मोहनी’ लाई युट्युबमा ५२ लाख बढी दर्शकले हेरेका छन् । यो गीत ट्रेण्डीङमा ३५ नम्बरमा पुगेको छ । गीतमा शब्द लोकराज अधिकारीको रहेको छ भने यसमा संगीत टंक बुढाथोकीले दिएका छन् । गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका छन् ।

कविराज गहतराजको निर्देशनमा तयार भएको गीतलाई दिर्घ गुरुङले खिचेका हुन् । हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारहरुको उपस्थिति भएकै कारण पनि फिल्मको हाइप बढ्दो छ । यस गीतमा तीन पुस्तालाई देखाइएको छ । गीतमा हरिवंश र दीपा , दीपक र प्रियंका तथा पल र आँचलको जोडीलाई दर्शकले देख्न पाउनेछन् ।

नेपाली फिल्म नगरीमा हरिवंश , दीपक र पललाई तिन पुस्ताको रुपमा पनि हेर्ने गरिन्छ । मित्र देव गुरुङको सम्पादनमा तयार गीतलाई दर्शककै अनुरुप बनाउने कोशिश गरिएको निर्माण पक्षको भनाइ छ । डेब्यु फिल्म ‘जात्रा’ मार्फत निर्देशनमा आएका प्रदीप भट्टराईले यस फिल्मलाई निर्देशन गरिरहेका छन् ।  तराई र काठमाडौमा छायाँकन गरिएको यस फिल्मलाई दर्शकले चैत्र ९ गते हेर्न पाउनेछन् । फिल्मलाई मह सञ्चारले निर्माण गरेको हो भने यसको प्रस्तुतकर्ता किरण केसी रहेका छन् ।

फिल्मका निर्माता तथा कलाकार हरिवंश आचार्यले यतिबेला दर्शकको स्वाद केहि फेरिएको हुनाले फिल्म बनाएको बताए । ‘गीतमा पनि नाच्ने कोसिस गरेको छु । दीपा, पल, आँचल, दीपक, प्रियंकाको जमातमा म पनि गीतमा देखिदा खुशी लागेको छ ।’ उनले भने । निर्देशक प्रदीप भट्टराई आफूहरुले जुन मेहेनत आशले फिल्मको पहिलो सामाग्री स्वरूप गीतलाई बाहिर ल्याएको थियो त्यसलाई दर्शकले मनपराएकोमा खुशी व्यक्त गरे ।