भोजपुरी अभिनेता ब्रिजेशको निधन

मुम्बई (एजेन्सी) । भोजपुरी फिल्म उद्योगका दिग्गज अभिनेता ब्रिजेश त्रिपाठीको हृदयघातका कारण निधन भएको छ । ब्रिजेशलाई दुई हप्ता अघि डेंगू भएको थियो । जसकारण उनलाई मेरठको अस्पतालमा भर्ना गरिएको थियो । उनको सोही अस्पतालमै उपचार भइरहेको थियो ।

अस्पतालबाट डिस्चार्ज भएपछि उनलाई मुम्बई ल्याइएको थियो । तर गए राती हृदयघात भएपछि तुरुन्तै अस्पताल लगिएको थियो । तर अस्पताल पुग्नासाथ उनलाई डाक्टरले मृत घोषणा गरेका थिए । अभिनेताको परिवार मुम्बईमा बस्दै आएका छन् ।

उनको आज अन्तिम संस्कार गरिँदैछ । ब्रिजेशले सन् १९७९ मा फिल्म ‘सैंया तोहार कारनु’बाट अभिनयमा डेब्यू गरेका थिए । उनको पहिलो हिन्दी फिल्म सन् १९८० मा रिलिज ‘ट्याक्सी चोर’ हो ।

भोजपुरी फिल्ममा आउनुअघि उनी बलिउडको हिस्सा थिए । उनले ‘नो एन्ट्री’, ‘ओम’, ‘गुप्तः द हिडन ट्रुथ’, ‘मोहरा’, ‘देवरा भईल दीवाना’, ‘हमाल बडीगाडं शिवा’, ‘ड्राइभर राजा’, पिया चाँदनी’, ‘रामकृष्ण बजरंगी’ र ‘जनता दरबार’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

उनले अजय देवगन, अमिताभ बच्चन, शाहरुख खान, सलमान खान, रजनीकान्ट, धर्मेन्द्र र विनोद खन्नासहित कैयौं स्टारसँग स्क्रिन शेयर गरेका थिए । उनले बलिउडमा मात्रै झण्डै २ सय ५० बढी फिल्ममा अभिनय गरेका थिए ।

भोजपुरी फिल्मको कुरा गर्दा रविन किशन, दिनेश लाल यादव, पवन सिंह र खेसारी लाल यादवसहित अन्य स्टारसँग स्क्रिन शेयर गरेका थिए ।