काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ आगामी मंसिर ४ मा रिलिज हुने भएको छ । छायांकनको चरणमा रहेको फिल्मले ६ महिना पछिलाई रिलिज डेट लक गरेको हो । फिल्मका वितरक सरोज पौडेलका अनुसार वितरकसँग सल्लाह अनुसार नै यो मितिमा रिलिज तोकिएको हो ।
सारंगी फिल्म्सको प्रस्तुतिमा निर्माण भइरहेको फिल्म पर्वतको कुस्मा नगरपालिका आर्थर डाँडाखर्कबाट छायांकन सुरु भइसकेको छ । छायांकनका क्रममाा मुख्य अभिनेता विजय बरालको हात फ्याक्चर भएपछि अहिले निर्माण टिमले केही समयलाई ब्रेक लिएको छ । बाँकी छायांकन असार १५ पछि मात्रै हुनेछ ।
अभिनेता विजय बराल र अञ्जना बराइली ब्लकबस्टर निर्देशक सरोज पौडेलसँग यो सिनेमामार्फत दोस्रोपटक सहकार्य गर्दैछन् । यसअघि उनीहरूले सरोज पौडेलकै निर्देशनमा बनेको फिल्म ‘पूर्णबहादुरको सारङ्गी’मा काम गरेका थिए । फिल्ममा विजय बराल, अञ्जना बराइली, विनोद न्यौपाने, कमलमणि नेपाल, लोकेन्द्र लेखक, भोलाराज सापकोटा, विनोद न्यौपाने, पूर्वमिस नेपाल उषा खड्गीलगायतका कलाकारहरूको अभिनय छ ।
फिल्ममा लेखन पनि निर्देशक पौडेल स्वयंको छ । फिल्मको पटकथा तथा संवाद सविन अधिकारी र वसन्त न्यौपानेले तयार पारेका हुन् । फिल्मका कार्यकारी निर्माता दिनेश खड्का हुन् भने आकाश, सुमन रञ्जित र श्याम मगर सह(निर्मातामा छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मसले देशव्यापी वितरण गर्ने फिल्मको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ ।




