फस्टलुकमा मिलनको अञ्जिला

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनबाट प्रभावित रहेको नेपाली फिल्म ‘अञ्जिला’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ ।

पोस्टरमा अञ्जिला र अभिनेता दयाहाङ राईलाई स्थान दिइएको छ । पोस्टरबाट अञ्जिलाको ग्रामीण जीवनको सङ्घर्षदेखि खेल जीवनसम्मको कथा यो फिल्ममा रहेको अनुमान गर्न सकिन्छ । अभिनेता राईको भूमिकाबारे भने पोस्टरले केही बोलेको छैन ।

फिल्मको छायाङ्कन अञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा गरिएको छ । फिल्ममा अञ्जिला स्वयंको मुख्य भूमिका रहेको छ । उनीसँगै यसमा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ सिंह, सुरज तमु, सुमिन गुरुङ, विष्णु मोक्तान लगायतको पनि अभिनय छ । फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठको फिल्म प्रमुख भूमिकामा अभिनय छ ।

फिल्मका निर्देशक मिलन चाम्सले फिल्ममा अञ्जिलाको बालापनदेखि खेल जीवनसम्मको कथामा उनले फुटबलर बन्नका लागि गरेको सङ्घर्ष र सफलताको कथालाई देखाइएको बताए । ‘सफल खेलाडी बन्नु अघि अञ्जिलाले धेरै दुःखहरू भोगेको र इच्छाशक्ति भएदेखि असम्भव भन्ने कुरा नहुने सन्देश फिल्मले दिनेछ’, उनले भने । निर्देशक चाम्सले फिल्म अञ्जलीको बायोपिक नभए पनि उनका जीवनको ७५ प्रतिशत कथा भने हुने बताए ।

१४ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका प्रेमकुमारले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए ।

२०५३ मा पाँचथरको फाक्तेपमा जन्मिएकी अञ्जिलाले १३ वर्षको उमेरदेखि नै फुटबल खेल्न सुरु गरेकी थिइन् । सन् २०१४ मा श्रीलङ्कामा सम्पन्न एएफसी यु–१४ गल्र्स रिजनल ट्रफीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा डेब्यू गरेकी उनी २०१४ बाट राष्ट्रिय टिममा परेकी थिइन् । तर, उनी २ वर्ष बेन्चमै सीमित भइन् । त्यसयता भने उनी महिला राष्ट्रिय फुटबल टिमको भरपर्दो गोलरक्षक बनेकी छन् । अञ्जिला पल्सर स्पोर्टस अवार्ड २०७७ को पिपुल च्वाइस अवार्डको मनोनयनमा समेत परेकी थिइन् । यो विधामा मनोनयनमा पर्ने अञ्जिला फुटबलकी एक मात्र खेलाडी हुन् ।

अञ्जिला ओलम्पिक क्वालिफाईङ राउन्डमा दोस्रो राउन्ड सम्म खेल्ने पहिलो महिला गोलरक्षक हुन् । यसै गरी उनी चीनमा भएको एसियन गेम्स खेल्ने, हिरो गोल्ड कपमा भारतलाई जित्ने, साफको सेमिफाइनलमा भारतलाई जित्ने पहिलो गोलरक्षक र क्याप्टेन हुन् । उनी साफको सिल्भर मेडलिष्ट गोलरक्षक हुन् भने श्रीलङ्कामा भएको साउथ रिजनल जोन टुर्नामेन्टमा भारत, इरान, भुटान, ताजकिस्तान र श्रीलङ्कालाई जितेर पहिलो पटक गोल्ड मेडल ल्याउने गोलरक्षक हुन् । पाकिस्तान लिगमा उनी गोलरक्षक रहेर पनि दुई गोल गरेकी थिइन्, जुन गोलरक्षक खेलाडीको इतिहासमा पहिलो बनेको थियो ।

सुदीप बरालको डिओपी रहेको यस फिल्मका सम्पादक मिलन श्रेष्ठ हुन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन् भने विनोद अग्रवाल र राजेश बगडिया सह–निर्माता हुन् । विनोद सुवेदी खत्री यसका निर्माण नियन्त्रक हुन् ।